अधिकारीले गर्न नमानेको यस्तो रहेछ आलेको कुर्ततवाला काम, कर्मचारीद्वारा बर्खास्त गर्न माग

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी संघसहित तीन वटा संघ/संगठनहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि गरेको दुर्व्यवहारप्रति खेद प्रकट गर्दै बर्खास्त गर्न माग गरेको छ ।

कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुन र महासचिव नेत्रराज राउतले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीमाथि गरेको घटनाको यथाशीघ्र छानविन गर्न माग गरेका छन् । राउत र पुनले मन्त्री आलेको हर्कतविरुद्ध उभिन सबै कर्मचारीहरूमा अपील गरेका छन् ।

‘निगमको वित्तीय अवस्थामा समेत सुधार भइरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नियम विपरितका कार्यहरू गर्न दवाव दिने, अश्लील गाली गलौज गर्नुका साथै दुर्व्यवहार समेत गरेको समाचार विभिन्न राष्ट्रिय छापा तथा विद्युतीय माध्यमहरूबाट प्रकाशित भएकोमा हामी सम्पूर्ण कर्मचारीहरू यस घटनाबाट दुःखी हुँदै घटनाप्रति खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘यसरी विभिन्न सञ्चारमाध्यमहरूमा कार्यकारी अध्यक्षलाई अनैतिक ढंगले कर्मचारी भर्ना गर्न र नियम विपरित कृयाकलाप गर्न दवाव दिने मन्त्रीले ८० भन्दा बढि मासिक ज्यालादारीमा कर्मचारी नियुक्ति दिन लगाइ नियुक्ति पत्र समेत मन्त्रालयबाटै बाडिनु अर्को दुख्त पक्ष हो’, संघले विज्ञप्तिमा भनेको छ, ‘निगम जस्तो स्वायत्त संस्थामा हस्तक्षेप गर्नु राजनैतिक विकृति हो ।’

‘मन्त्रीले हस्तक्षेप गर्ने कानून विधि विपरित कार्य गर्न लगाउने र नगरे भौतिक आमणमा उत्रिनु भर्त्सना योग्य कार्य हो’, विज्ञप्तिमा भनिएको छ, ‘घटनाको यथाशीघ्र छानविनको माग गर्दै आम कर्मचारीहरूलाई यसविरुद्ध उभिनको लागि संघ हार्दिक अपील गर्दछ ।’

नेपाल वायुसेवा निगम कर्मचारी यूनियनका अध्यक्ष सुभास डाँगीले मन्त्री आलेले कार्यकारी अध्यक्ष अधिकारीमाथि गरेको कार्य निन्दनीय कृयाकलाप रहेको भन्द्र घोर भर्त्सना गरेका छन् ।

‘नेपाल सरकारको मन्त्रीजस्तो गौरवशाली पदमा आसीन भएका सार्वजनिक व्यक्तिबाट त्यस्ता खालका निच हर्कत अभिव्यक्तिप्रति खेद प्रकट गर्दै नेपाल वायुसेवा निगम कर्मचारी यूनियन नेपाल सरकारसमक्ष निजको (मन्त्री आले) बर्खास्तीको जोडदार माग गर्दछ’, अध्यक्ष डाँगीले भनेका छन् ।

यसैबीच, नेपाल राष्ट्रिय कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहले पनि विज्ञप्ति जारी गरेर कार्यकारी अध्यक्ष अधिकारीमाथि मन्त्री आलेले गालीगलौज र हातपातजन्य घृणित दुर्व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘निगममा आर्थिक रुपमा पनि कमजोर भएको अवस्थामा विभागीय मन्त्रीबाट सयौँको संख्यामा कुनै विधि प्रक्रिया नअपनाई कर्मचारी भर्ना गर्न ठाडो आदेशका भरमा गरिएको भर्ती खेदपूर्ण छ’, उपाध्यक्ष शाहले भनेका छन् ।

‘नेपाल सरकारको पर्यटन मन्त्री जस्तो पदमा बसेको व्यक्तिले पदीय मर्यादा र आचारण विपरित पटक–पटक कर्मचारी भर्तीको दवाव दिँदै गरिएको निच दुर्व्यवहारपूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन सम्बन्धित निकाय समक्ष निजलाई (मन्त्री आले) बर्खास्तीको जोडदार माग गर्दछ’, संगठनका उपाध्यक्ष शाहले भनेका छन् ।

संकटमा रहेको निगममा मन्त्री आलेले मन्त्रालयबाटै ८० जनाभन्दा धेरै कार्यकर्तालाई नियुक्ति पत्र दिएर निगममा भर्ती गर्न कार्यकारी अध्यक्ष अधिकारीलाई दवाव दिएका थिए ।

अधिकारीले ती कर्मचारी भर्ती गर्न नमानेपछि आलेले आक्रमण गरेका खुलेको छ ।

Published : Friday, 2022 June 17, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया