टोले गुण्डाको हर्कत गरेका मन्त्री नाकमुख लुकाएर दुलो पसे, देउवा-नेपालले गम्भीर कदम उठाउने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि गरेको व्यवहारले राजनीतिक नेतृत्व र दलहरूप्रति घृणा उत्पन्न गराएको छ ।

मन्त्री बन्न पार्टी फुटाउनेदेखि हदैसम्मको हर्कत गरेका आलेले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, सार्वजनिक ठाउँमा बोल्नै नसक्ने शब्दमार्फत गालीगलौज गर्ने जस्ता कार्यले मन्त्री पदको गरिमा घटाएको छ ।

माधवकुमार नेपाल जस्ता असल नेताको पार्टीका मन्त्रीले गरेको हर्कतले ठूलो प्रश्न उठाएका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेता पूर्वप्रधानमन्त्री हुन् । नेपालप्रति औँलो उठाउने ठाउँ छैन ।

तर, उनकै पार्टीका मन्त्री आलेले गरेको व्यवहार निकृष्ट छ । आलेले मन्त्री भएदेखि उच्च कर्मचारी, व्यापारीहरूलाई धम्काउने, पैसा माग्ने, नाजायज काम गर्न बाध्य बनाउने जस्ता हर्कत गरेको आरोप लाग्दै आएको छ । ती सबै कुराहरू आलेबाट भइरहेका थिए । धेरै कुरा बाहिर आएका छैनन् । अब आलेविरुद्धका कुराहरू क्रमशः आउनेछन् ।

मन्त्री पद फुत्किन केही घण्टा बाँकी रहेका बेला निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि गरेको कार्यले पूरै मुलुकभरि हलचल ल्याइदिएको छ ।

मन्त्री आलेले ऐन नियम विपरित अध्यक्ष अधिकारीलाई कार्यकर्ता भर्ती गर्न लगाउने, ग्राउण्ड ह्याण्डेलिङ चलाउन सक्दैन भनेर लेखेर दिन दवाव दिने, दुई दिनभित्र डीपीआरहरू बनाएर दिन भन्ने जस्ता नाजायज कार्य गर्न अस्वीकार गरेको भन्दै कुटपिट र गौलीगलौजमा उत्रिनु जायज होइन ।

अधिकारीको गल्ती थियो भने उनलाई कारबाही गर्ने अनेक कानून र विधि छन् । मन्त्री हुँ भन्दैमा आलेले गरेको हर्कत सहन सकिँदैन । मन्त्रीबाट कर्मचारीहरू असुरक्षित छन् भन्ने कुरा पुष्टि भएको छ ।

मन्त्री जस्तो व्यक्तिले टोले गुण्डाको जस्तो हैसियत र औकात देखाउनु उचित होइन । आले मन्त्री हुन्, कुनै टोले गुण्डा होइनन् । आलेले यो कुरा भुल्नु हुँदैन ।

आले प्रवृत्तिलाई राजनीतिबाट समाप्त पार्नुपर्छ । होइन भने यो प्रवृत्ति राजनीतिक दल र नेताहरूप्रति घातक हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आले जस्ता मन्त्रीलाई एक मिनट पनि पदमा बस्न दिनु हुँदैन । आलेलाई कारबाही गर्नुपर्छ । होइन भने देउवाले पछिल्लो समयमा बनाएको असल छविमा धक्का लाग्नेछ ।

आलेले प्रधानमन्त्री देउवा, डा.आरजु राणा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालको नाम भजाएर नाजायज फाइदा लिइरहेको आरोप छ ।

राजनीतिक नियुक्ति, ठेक्का, जग्गा भाडामा लगाउने वा अन्य निर्णय गर्दा आर्थिक लाभको कुरा गर्दा आलेले सिधै ‘कति आउँछ ?’ भनेर भन्ने गरेको आरोप छ ।

आलेले बालुवाटार, कोटेश्वर र खुमलटारमा पनि बुझाउनुपर्छ भनेर आर्थिक लाभ लिने गरेको गुनासाहरू छन् । यसको उदाहरण नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्तिका बेला के–के भएको थियो भन्ने कुरा शीर्ष नेताहरूलाई राम्रोसँग जानकारी छ ।

आलेले त्यस बेला पनि नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक क–कसलाई बनाउँछु भनेर अग्रिम रकम लिएका थिए वा बैंकमा कसले पैसा जम्मा गरिदिएका थिए भन्ने कुराको प्रमाण पनि कुनै दिन विष्फोटक रुपमा बाहिर आयो भने अचम्म नमाने पनि हुन्छ ।

आलेको हर्कतले शीर्ष नेताहरूको नाम भजाएर बद्मासी गरेका छन् भन्ने पुष्टि भएको छ । यस्ता बद्नाम मन्त्रीलाई हटाएर प्रधानमन्त्री देउवाले राजनीतिक नेतृत्वको छवि बचाउनुपर्छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि आले प्रवृत्तिलाई संरक्षण गर्नु हुँदैन । नेपालले प्रधानमन्त्री देउवालाई भनेर आलेलाई मन्त्री पदबाट अपदस्थ गरेर सबक सिकाउनुपर्छ । होइन भने आलेले गरेको हर्कतको घाटा अध्यक्ष नेपाल र उनको पार्टीले ब्यहोर्नुपर्नेछ ।

मन्त्री आलेको हर्कत र गतिविधिबाट प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाल चिन्तित बनेका छन् । देउवा र नेपालले आलेका विषयमा के गर्ने भनेर आन्तरिक परामर्श गरेको उच्च स्रोतले जनाएको छ । बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले सिधै आलेलाई मन्त्रीबाट अपदस्थ गर्न मिल्दैन । गठबन्धनको सरकार छ । आलेजी अर्को पार्टीको मन्त्री हो । प्रधानमन्त्री र अध्यक्ष नेपालबीच यस विषयमा टेलिफोनमा परामर्श भएको छ । प्रधानमन्त्रीज्यूले कुनैन कुनै कदम उठाउनु हुँछ ।’

बतास समूह, होटेल याक एण्ड यति, होटेल ह्यात, क्यासिनो, ठूलो होटेल व्यवसायीहरूलाई समेत आलेले दुःख दिएका थिए । आलेले निजी क्षेत्रलाई ठूलो नोक्सानी पुर्‍याएका छन् । त्यसको हिसाव किताव पनि आउन बाँकी छ ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई गरेको हर्कतपछि आलेका कारण अन्यायमा परेकाहरूलाई न्यायालयले अब न्याय दिनुपर्छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, बतास समूह, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीसहितलाई न्यायालयले न्याय दिनुपर्ने माग हुन थालेको छ । आलेका कारण उनीहरू सबै अन्यायमा परेको भन्दै न्याय माग्न न्यायालयमा पुगेका छन् ।

आलेको हर्कत र अहँकारको मूल्य उनले समय आएपछि चुकाउनुपर्नेछ । आले जस्ता छुद्र मन्त्री एवम् कम्युनिस्ट नेताका कारण राजनीतिमाथि प्रश्न उठेको छ । आलेलाई साथ दिनेहरू पनि एकदिन बिलाएर जानेछन् ।

आलेले कार्यकारी अध्यक्ष अधिकारीमाथि गरेको हर्कत र गालीगलौजको अडियो शुक्रबार बिहानै सार्वजनिक भएपछि दुलाभित्र पसेका छन् । आलेले फोन पनि उठाएका छैनन् । प्रतिक्रिया लिन आलेलाई दुई पटक मोबाइल फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । आलेले अडियोका विषयमा शुक्रबार ५ बजेसम्म प्रक्रिया दिएका छैनन् ।

Published : Friday, 2022 June 17, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया