भैरहवामा वैदेशिक रोजगार शाखा स्थापना

भैरहवा । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सुविधाका लागि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको छ ।

बुधबार श्रम रोजगार तथा सामाजिक विकासमन्त्री किसान श्रेष्ठले शाखाको उद्घाटन गरेका छन् ।

श्रेष्ठले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन भएसँगै पायक पर्ने श्रमिकलाई सहज बनाउनका लागि वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको बताए ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन गरिएपछि लुम्बिनी प्रदेशमात्र नभएर सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशका श्रमिकलाई वैदेशिक रोजगारीमा जान सहज र पायक पर्ने उनले बताएका छन् ।

भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई छुट दिएर सुलभ सेवा दिनका लागि मन्त्री श्रेष्ठले होटल, ट्राभल एजेन्सी लगायतका सम्बद्ध व्यवसायीलाई आग्रह गरेका छन् ।

सबै अनलाइन प्रकृयाबाट सेवा गरिने भैरहवा शाखा कार्यालयबाट तत्कालका लागि शाखा अधिकृतस्तरको कर्मचारीसहितको टिमबाट सेवा सुरु गरिनेछ ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारी सम्बन्धी सरकारले प्रदान गर्ने सेवालाई अब काठमाडौंमा मात्र सीमित नराखी भैरहवा र त्यसपछि पोखराबाट सुरु गरिने बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले भैरहवा शाखा कार्यालयबाट श्रमसम्बन्धी सेवा हुन लागेकोमा खुशी व्यक्त गरे । उनले सरकारले गरेका यस्ता कामले वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारलाई थोरै भए पनि राहत मिल्ने बताए ।

शाखा खोल्न पहल गरेकोमा संयोजक ढकालले श्रम मन्त्री र श्रम सचिवलाई धन्यावाद दिएका छन् ।

Published : Thursday, 2022 June 16, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया