विद्या भण्डारीले एमालेका कार्यकर्ताहरू बोलाएर भेटिन्, कांग्रेस सरकारविरुद्ध भडास पोखिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दल एमाले निकटका पत्रकार र कार्यकर्ताहरूलाई बोलाएर नेपाली कांग्रेस नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिएकी छिन् ।

एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले मंगलबार एमाले निकटका पत्रकारहरूको संस्था प्रेस चौतारीका पत्रकारहरूलाई बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेकी हुन् ।

उनले राष्ट्र हितविपरीत कुनै काम हुन नदिने बताएको एक पत्रकारले बताएका छन् । अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा भण्डारीले चासो राखेकी छिन् ।

भण्डारीले आफूले जानेर वा नजानेर राष्ट्र हित विपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन् ।

भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर, व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी छिन् ।

अमेरिकी अधिकारीलाई तिब्बती शरणार्थी क्याम्प जान दिनुले व्यवहारमा अप्ठेरो उत्पन्न गराएको राष्ट्रपति भण्डारीले उल्लेख गरेको बुझिएको छ ।

उनले सरकार कुनै पनि विदेशी शक्ति राष्ट्रका विषयमा एकपक्षीय जस्तो भएर जान नहुने र यस्तो भएमा नेपालको परराष्ट्र नीतिमा असर पर्ने बताइन् ।

अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाको काठमाडौंस्थित तिब्बती शरणार्थी शिविर भ्रमणको विषयले दलहरूभित्र मतभिन्नता उत्पन्न भएका बेला राष्ट्रपति भण्डारीले पनि यसबारेमा चासो राख्दै असन्तुष्टि प्रकट गरेकी हुन् ।

भण्डारीले किसानले समयमा मल नपाएको, कृषि उत्पादनलाई सरकारले बेवास्ता गरेको, बिचौलिया हाबी भएको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।

भण्डारीले जनताले चर्को महँगी खेपिरहेको भन्दै कांग्रेस सरकारको आलोचना गरेकी छिन् ।

एमालेका पत्रकारहरूले वाम गठबन्धन अहिले मुलुकको आवश्यकता भएको र त्यसका लागि राष्ट्रपति भण्डारीले पहलकदमी लिनुपर्ने माग राखेका थिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले राष्ट्रपति भण्डारीसँग चौतारीका केही पत्रकारहरूले मंगलबार भेट गरेको पुष्टि गरेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको तत्कालीन झण्डै दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार ढलेपछि तनाबमा परेकी राष्ट्रपति भण्डारीले एमाले समर्थक पत्रकारहरूलाई बोलाएर देउवा सरकारविरुद्ध अभिव्यक्ति दिएकी छिन् ।

राष्ट्रपति भण्डारी चीन समर्थक रहेको आरोप लाग्दै आएको छ । विगतमा उनले एमाले र माओवादीलाई मिलाएर वाम गठबन्धन गराइदिएकी थिइन् । चिनियाँहरूसँग भण्डारीको धेरै राम्रो सम्बन्ध छ ।

Published : Wednesday, 2022 June 15, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया