भ्रष्टाचार आरोपी व्यक्तिले सिंहदरबारको अँध्यारो कोठामा बसेर यसरी चलाउँछन् मन्त्रालय

काठमाडौं । सरकारले रासायनिक मल समयमा ल्याउन कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिँदा पनि मल भित्रिन सकेको छैन ।

असार महिना शुरु भइसकेको छ । किसानलाई अब रासायनिक मल चाहिन्छ । धनलाई रासायनिक मल आवश्यक भइसकेको छ । केही किसानले महँगोमा व्यापारीहरूसँग कालोबजारीमा किनेर धानमा हाल्न थालेका छन् ।

मन्त्री यादवको बिगतको रेकर्ड राम्रो छैन । तत्कालीन समयमा सिंचाइ मन्त्री रहेका यादवले काम हुनुभन्दा अगाडि नै कमिशनको रकम माग गरेको भनेर ‘प्रिपेड’ मन्त्रीको आरोप खेपेका थिए ।

मन्त्री यादवले मन्त्रालय हेर्न र सहयोगका लागि आफ्नै भाई रविन्द्रकुमार यादवलाई राखेका छन् । रविन्द्र निकै विवादित व्यक्ति हुन् ।

रविन्द्रले समाज कल्याण परिषदको जग्गा भाडा प्रकरणमा ३१ करोड ५२ लाखभन्दा धेरै रकम भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्धा खेपीरहेका छन् ।

यस्ता विवादित र भ्रष्टाचारको आरोपमा मुद्धाको सामना गरेका रविन्द्रले कृषि मन्त्रालयमा के–के गरेका होलान् ? धेरैको प्रश्न छ ।

भ्रष्टाचारको मुद्धा लागेका रविन्द्रलाई मन्त्रालय छिर्न दिनु हुँदैन थियो । तर, रविन्द्र मन्त्रालयको अँध्यारो कोठामा बसेर सबै सेटिङ गर्दै आएका छन् । रविन्द्रले माफियाहरूसँग मिलेर रासायनिक मलमा पनि कमिशनको काण्ड गरेको आरोप छ ।

उता, कृषिमन्त्री यादवले असार १५ गतेसम्म रासायनिक मल आइपुग्ने दाबी गरेका छन् । उनले संसदको बैठकमा ८० हजार मेट्रिकटन मल उपलब्ध हुने आश्वासन दिएका हुन् ।

मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल असार मसान्तसम्म आइपुग्ने दाबी गरेका हुन् ।

‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ’, मन्त्री यादवले भने, ‘भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं ।’

किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उनले सुझाब दिएका छन् ।

किसानले मल नपाएको बेला मन्त्री यादवले भारत भ्रमण गरेका थिए । मन्त्री यादवले आफू प्रधानमन्त्रीले भनेकै कारण मल लिनका लागि भारत गएको जनाएका छन् ।

नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङले किसानलाई समयमा बीउ र मल उपलब्ध गराउन नसक्नुमा माफियाको चलखेल रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माफियाको घुम्टो बीउ राख्ने वेलामा बीउ पाइँदैन । मल छर्ने वेलामा मल पाइँदैन । सिंचाइको त कुरै छाडौैं ।’

‘तैपनि मेरो देश कृषि प्रधान देश हो । सायद सिंहदरबाट किसानहरूको अनुहार देखिंदैन । किनकि सिंहदरबार लजालु छ’, गुरुङले लेखेका छन्, ‘त्यसैले सदियौंदेखि सिंहदरबार माफियाको घुम्टो ओढेर बस्ने गर्छ ।’

रविन्द्रका धेरै काण्डहरू छन् । मन्त्री यादवले आफ्नै भाईलाई मन्त्रालयको काममा सहयोग गर्न भनेर अदृष्य रुपमा राखेर चलखेल गरेको आरोप छ । विषादी र अन्य विभिन्न कुराहरू मिलाउने भनेर रविन्द्रले चलखेल गरेको पनि आरोप छ ।

रविन्द्रको १४ जनाको त्यो ग्याङ

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ विगो माग गरिएको छ ।

न्यौपानेसहित समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने, परिषदका तत्कालीन कोषाध्यक्ष रत्त गाहा मगर, तत्कालीन निर्देशक मदनप्रसाद रिमाल, तत्कालीन उप–निर्देशक बलबहादुर स्वार, तत्कालीन कानूनी सल्लाहकार प्रेमसिंह धामी, जगदेव चौधरीसहितलाई विपक्षी बनाइएको छ ।

Published : Wednesday, 2022 June 15, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया