शेखर कोइरालाका सबै उम्मेदवारहरूको लज्जास्पद हार

विराटनगर । एमालेले जिल्ला समन्वय समिति (जिसस) मोरङमा एकलौटी कब्जा गरेको छ ।

जिससको प्रमुखमा एमालेका अजम्बर राई र उप–प्रमुखमा उषा झा विजयी भएका छन् । दुवै जनाले २१–२१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिससको प्रमुखमा कांग्रेसका जितेन्द्र अग्रवाल र उप–प्रमुखमा निलमकुमारी सरदारले उम्मेदवारी दिएका थिए । अग्रवालले १३ र सरदारले १३ मत ल्याए पराजित भएका छन् ।

सदस्यहरूमा एमालेकी उमा नेपाली, उर्वसीकुमारी थारु, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल, मित्रप्रसाद ढकाल विजयी भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिएका छन् ।

सदस्यमा निर्वाचित नेपालीले २३, घिमिरे र ढकालले २२–२२ मत ल्याएका हुन् । अन्यले २१–२१ मत ल्याएका थिए ।

जिसस निर्वाचनमा एमालेका २१, कांग्रेसका १२ र माओवादी केन्द्रको एक मतदाता थिए ।

कांग्रेसको सभापतिमा उम्मेदवार बनेर पराजित भएका नेता शेखर कोइरालाले आफ्नै गृहजिल्ला मोरङको जिससमा लज्जास्पद हार व्यहोर्नु परेको छ ।

कोइरालाले कांग्रेसभित्र देखाउँदै आएको अहँकार र असहयोगको राजनीतिले गर्दा उनलाई मोरङमा जिससमा शून्य अवस्थामा पुगेर झट्का लागेको छ ।

Published : Tuesday, 2022 June 14, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया