साइली बुहारीको धुन्धुकारी योजना विफल, दुई जनाको ज्यान गयो

लहान । सिरहा जिल्ला दुई जनाको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सर्वाजनिक गरेको छ ।

जेठ ७ गते घरमा सुतिरहेका बेला अर्नमा गाउँपालिका– १ महनौरस्थित पटल टोलमा ६० वर्षीय चन्देश्वर पाल ‘लुचाइ’ र १९ वर्षीय सन्तकुमार पालको हत्या भएको थियो । चन्देश्वर र सन्तकुमार बाबुछोरा हुन् ।

उनीहरूको हत्याको अभियोगमा गोलबजार नगरपालिका–४ बस्दै आएकी चन्देश्वरकी साइली बुहारी २६ वर्षीया शान्तिदेवी पाल, गोलबजार नगरपालिका– ४ का ६५ वर्षीय बेचु पाल, र अर्नमा गाउँपालिका–१ महनौरका ४८ वर्षीय जनिफ मियाँलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

सन्तकुमारको विवाह मोरङकी युवतीसँग जेठ ११ गते हुने तय भएको थियो । विवाहको भोज पनि भएको थियो । सन्तकुमारलाई युवतीको परिवारले एक लाख नगद, मोटरसाइकल, ८ आना सुन दाइजोमा दिने सहमति भएको थियो ।

सन्तकुमारभन्दा पहिला ती युवतीको विवाहको कुरा गोलबजारकै ६५ वर्षीय बेचु पालका छोरासँग कुराकानी भएको थियो । बेचु पालले ती युवतीका परिवारसँग दाईजोको ठूलो माग गरेपछि युवतीका परिवारले थोरै दाईजो दिएर सन्तकुमारसँग विवाह गरिदिन लागेको थियो ।

आफ्नो छोरासँग विवाह नगरिदिएर सन्तकुमारलाई युवती दिएकोमा बेचु पाललाई मन परेको थिएन ।

उता, खराब चरित्रका कारण सन्तकुमारकी साइली भाउजु शान्तिदेवीलाई विवाहमा नआउन भनिएको थियो । बच्चाहरूलाई मात्रै बोलाइएको थियो । शान्तिदेवीका पति वैदेशिक रोजगारीमा छन् ।

शान्तिदेवीले सम्पत्ति नपाएको, माइतीबाट ल्याएको चाँदीका गहना नदिएको तथा विवाहमा नबोलाएको झोँकमा बेचु पाल र जनिफ मियाँसँग मिलेर ससुरा र देवरको हत्या गरेको सिरहा प्रहरीका प्रवक्ता नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।

हत्याका लागि जनिफ मियाँले बन्चरो र बेचु पालले खुकुरी ल्याउन योजना बनाएका थिए । शनिबार साँझ बेचु पाल गोलबजारबाट पैदल हिँडेर मियाँसँगै भेट हुने स्थानमा पुगेका थिए । मियाँ नआएपछि घटनास्थलको पूर्वमा रहेको राजदेवी मन्दिरमा गएर केही समय बसेका थिए ।

मृत्तकको घरमा विवाह भोजको गीत बज्न बन्द भएपछि बाहिर गोठमा सुतेका चन्देश्वरलाई पहिला र त्यसपछि सन्तकुमारको हत्या भएको प्रवक्ता बुढाथोकीले बताए । हत्यापछि कोठामा बाहिरबाट चुकुल लगाएर उनीहरू मन्दिरतर्फ गएका थिए ।

बेचु पालले मन्दिरमा हातमख धाएर बालुवाले खुकुरी घोटेर सफा गरेर घर फर्किएको प्रहरीले जनाएको छ । ससुरा र देवरको हत्या गरेर बदला लिने योजना सबै तुहिएको छ । हत्यामा संलग्न सबैलाई सिरहा प्रहरीले हत्यामा संलग्न हतियारसहित पक्राउ गरेको छ ।

Published : Wednesday, 2022 June 1, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया