जागिर छाडेर बसेका प्रहरी, सेनालाई झुक्काउने दलेहरूको ग्याङ पक्राउ

काठमाडौं । भिजिट भिषामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लम्जुङ राईनास नगरपालिका–३ ठेगाना भएका ४७ वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–८ ठेगाना भएका ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३५ वर्षीया रंजना ढकाल प्याकुरेल, रुपन्देही देवदह नगरपालिका–५ ठेगाना भएका ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेको विज्ञप्तिमा उल्लेख छ ।

दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसिको संचालक कोमलराज उपाध्याय समेतको गिरोहले आमर्स गार्डमा ५ सय जनाको भ्याकेन्सी भएको भनेर ठगी गरेका थिए ।

उपाध्यायले मासिक तलब ३ हजार दिरामसम्म पाउने बैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५० हजार रूपियाँदेखि ८ लाख रूपियाँसम्म खर्च लाग्ने भनि फेसबुक वाट्सएप जस्ता सामाजिक संजालको पेजमा भ्रामक विज्ञापन राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणलाई विभिन्न मितिमा भिजिट भिषामा दुबईमा पुर्‍याई ९० दिनभित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई उपाध्यायसहितको समूह फरार भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।

नेपाल सरकार, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी तथा नेपाल र दुबईस्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको र हालसम्म ७६ जना पीडितहरुबाट २ करोड ४३ लाख ३६ हजार ८ सय १० रूपियाँ ठगी भएको खुल्न आएको छ ।

उनीहरू उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

Published : Tuesday, 2022 May 31, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया