प्यूठानमा बन्दुकको गोली एकजनाको मृत्यु, बन्दुकसहित १० जना पक्राउ

प्यूठान । प्यूठान जिल्लामा एकजनाको गोली लागेर मृत्यु भएपछि प्रहरीले भरुवा बन्दुकसहित १० जनालाई पक्राउ गरेको छ ।

ऐरावती गाउँपालिका–१ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय दोर्णबहादुर आले मगरको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञानबहादुर नेपालीले उक्त जंगलमा सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्णबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुकसहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2022 May 30, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया