महोत्तरीमा साढे ४ लाख भारतीय पैसासहित शेख पक्राउ

काठमाडौं । महोत्तरी जिल्लामा प्रहरीले श्रोत नखुलेको रकमसहित भारतीय नागरिक जिशान शेखलाई पक्राउ गरेको छ ।

आइतबार बिहान ९ बजे प्रहरी चौकी सम्सीको टोलीले सम्सी गाउँपालिका– ६ स्थित मस्जिद नजिक शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई चेकजाँच गर्दा भारतको पानावेला ग्रामपञ्चायत–१३ बस्ने २२ वर्षीय शेखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको छ ।

शेखको साथबाट प्रहरीले प्लाष्टिकमा बेरी ल्याएको भारतीय ५०० दरको नोट ८९६ थान र भारतीय २,००० दरको नोट थान–१ गरी जम्मा ४ लाख ५० हजार भारतीय रुपियाँ र मोटरसाईकलसहित पक्राउ गरेको छ ।

शेखलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बाराको पथलैया पठाइएको छ ।

यसैबीच, महोत्तरी प्रहरीले आइतबार बिहान करीव ८ बजे बर्दिवास नगरपालिका– ११ खैयरमारा र सर्लाहीको सिमाना बाँके खोलाको बाँधबाट ५ किलो गाँजा र मोटरसाईकल बरामद गरेको छ ।

ना.२३ प.१३४३ नं. को मोटरसाईकलमा कालो प्लाष्टिकमा पोको पारी ५ किलो गाँजा लुकाई छिपाई सर्लाहीतर्फ लैजादै गरेको अवस्थामा प्रहरी चौकी खयरमाराले नियन्त्रणमा लिएको छ ।

गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ने बितिकै गाँजासहित उक्त मोटरसाईकल छोडी मानिस सर्लाहीतर्फ फरार भएका थिए ।

गाँजा र मोटरसाईकल बरामद गरी फरार व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2022 May 29, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया