मुख्यमन्त्रीकी पत्नीलाई कांग्रेसले तेस्रो नम्बरमा हाराइदिएपछि भाँडभैलो, उपेन्द्र-लालबाबुले जसपा ढाले

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेता लालबाबु राउतकी पत्नी स्थानीय तहको निर्वाचनमा नराम्रोसँग पराजित भएकी छिन् ।

मुख्यमन्त्री राउतले आफ्नी पत्नी जलेखा खातुनलाई उपाध्यक्षमा उम्मेदवार बनाएका थिए । राजनीतिक शक्तिको आडमा पत्नीलाई जगरनाथ गाउँपालिकाको उपाध्यक्ष बनाउने मुख्यमन्त्री राउतको सपना मतदाताहरूले ध्वस्त बनाइदिएका छन् ।

जगरनाथ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा श्रीकान्तप्रसाद यादव र उपाध्यक्षमा बबिता सिंह क्षेत्री निर्वाचित भएका छन् ।

मुख्यमन्त्री राउतकी पत्नी जलेखा खातुन उपाध्यक्षमा तेस्रो नम्बरमा छिन् । खातुनले जम्मा ३१२३ मत पाएकी थिइन् ।

हुन त जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयर बनाउन खोजेका थिए । यादवका छोरालाई पनि विराटनगरका मतदाताले उप–मेयरमा नराम्रोसँग हराइदिएर सबक सिकाएका छन् ।

जसपामा परिवारवाद हाबी छ । यसको प्रमाण अध्यक्ष यादव र मुख्यमन्त्री राउतको चर्तिकलाले पुष्टि गरेको छ । यादव र राउतका कारण मधेस प्रदेशमा जसपा कमजोर भएको छ ।

मधेस प्रदेशका अधिकांश पालिकाहरूमा अध्यक्ष यादवले आफू खुशी टिकट वितरण गर्दा जसपालाई ठूलो नोक्सानी भएको छ ।

स्थानीय तहमा पार्टीले भोगेको पराजय लिन अध्यक्ष यादव तयार छैनन् । बरु ५ दलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई जसपा पराजित भएको दोषी थुपारेर पन्छिन खोजेका छन् ।

कांग्रेसले जसपालाई जहाँ–जहाँ सहयोग गर्नु थियो गरेको छ । तर, जसपाका सबै उम्मेदवार अर्थत अध्यक्ष यादवका छोरा, मुख्यमन्त्री राउतकी पत्नीलाई जिताउने ठेक्का कांग्रेसले लिएको छैन भन्ने कुरा यादवले बुझ्न जरुरी छ ।

Published : Friday, 2022 May 27, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया