परराष्ट्र मन्त्रालयद्वारा ११ अग्रज कर्मचारीलाई सम्मान

काठमाडौं । परराष्ट्र मन्त्रालयले ११ जना अग्रज कर्मचारीहरूलाई सम्मान गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरमा मनाइएको परराष्ट्र सेवा दिवसका अवसरमा ११ कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

मन्त्रालयले हरिप्रसाद पोखरेललाई सम्मान गरेको छ । पोखरेलले २००६ सालबाट मुन्सिखानाबाट सेवामा प्रवेश गरेका थिए ।

उनी २०१७ सालमा ट्याक्स इन्स्पेक्टरको प्रतियोगितात्मक परीक्षामा उत्तीर्ण भएर लामो समयसम्म परराष्ट्र सेवामा रहेका थिए ।

सेवाका क्रममा उनी विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी, श्रम विभागको महानिर्देशक समेत भएका थिए ।

योगेन्द्रनाथ ओझा पनि सम्मानित भएका छन् । २०१२ देखि ०१४ सालसम्म परराष्ट्र सेवामा रहेर काम गरेका थिए । उनी प्रशासन सेवामा प्रवेश गरेर विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, गृह सचिव तथा लोकसेवा आयोगको अध्यक्ष जस्ता पदमा रहेर काम गरेका थिए ।

नारायणप्रसाद राजभण्डारी पनि सम्मानित भएका छन् । राजभण्डारी २०१३ देखि २०१८ सालसम्म परराष्ट्र मन्त्रालयमा रहेर काम गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी, पुनर्वास निर्माणको महानिर्देशक, शिक्षा मन्त्रालयको अतिरिक्त सचिव भएर सेवा गरेका उनी निर्वाचन आयोगको आयुक्त समेत भएका थिए ।

मन्त्रालयले नरसिंहमान प्रधानलाई पनि सम्मान गरेको छ । मुन्सी परिवारका सदस्य प्रधानले २०१८ सालभन्दा अगाडि नेपालको परराष्ट्र मन्त्रालयमा रहेर काम गरेका थिए ।

नारायणप्रसाद अर्याल पनि सम्मानित भएका छन् । अर्याल परराष्ट्र सेवामा रहँदा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग न्युयोर्क, नेपाली राजदूतावास नयाँ दिल्ली र लन्डनमा रहेर काम गरेका थिए ।

पर्यटन विभागको पहिलो महानिर्देशक, निर्माण तथा यातायात मन्त्रालयका सचिव भएका उनी जापानका लागि नेपाली राजदूतसमेत भएका थिए । उनी परराष्ट्र मन्त्रालयको सेवामा प्रवेश गर्नुअघि प्राध्यापन पेसामा थिए ।

सम्मानित हुनेमा विश्व प्रधान पनि छन् । प्रधान इजिप्ट, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत र परराष्ट्र सचिवसमेत भएका थिए । त्यसअघि उनले नेपाली राजदूतावास नयाँ दिल्ली र वासिङ्टन डिसीमा बसेर काम गरेका थिए ।

मन्त्रालयले यादवकान्त सिलवाललाई पनि सम्मान गरेको छ । सिलवाल रुसी महासंघका लागि नेपाली राजदूत तथा दक्षिण एसियाली सहयोग संगठन (सार्क)का महासचिव भएका थिए । उनी परराष्ट्र सचिवसमेत भएका व्यक्ति हुन् । उनी लामो समयसम्म लुम्बिनी विकास कोषका सदस्य सचिव समेत भएका थिए ।

बिन्देश्वरी मल्ल शाहलाई पनि मन्त्रालयले सम्मान गरेको छ । शाह नियोग र राजदूत पदमा आसीन पहिलो नेपाली महिलाका रूपमा परिचित छिन् । उनले परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिव भएर काम गरेकी थिइन् ।

मन्त्रालयले गोवर्धनविक्रम शाहलाई पनि सम्मान गरेको छ । शाहले परराष्ट्र मन्त्रालयमा रहेर काम गर्नुका साथै नयाँदिल्ली र मस्कोस्थित नेपाली राजदूतावासमा नेपाली महावाणिज्य दूतावास तथा जेनेभास्थित संयुक्त राष्ट्र संघको लागि नेपालको स्थायी नियोगमा प्रमुखका रूपमा काम गरेका थिए ।

मन्त्रालयले शिवराम शर्मा र गणेशमान श्रेष्ठलाई पनि सम्मान गरेको छ । शर्मा र श्रेष्ठ विक्रम संवत २०१५ सालमा एकैदिन परराष्ट्र मन्त्रालयको सेवामा प्रवेश गरेका थिए ।

आफ्नो सेवा अवधिमा विभिन्न राजदूतावासमा रहेर काम गरेका उनीहरू २०४९ सालमा एकैदिन सेवा निवृत्त भएका थिए ।

Published : Thursday, 2022 May 26, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया