महेश बस्नेतको जिल्लामा कस्तो छ कांग्रेसको जितको पोजिशन ?

भक्तपुर । भक्तपुर जिल्लामा नेपाली कांग्रेसले ४ मध्ये २ वटा नगरपालिकाको मेयर जितेर ठूलो पार्टी बनेको छ ।

कांग्रेसले चागुनारायण र मध्यपुर नगरपालिका जितेको छ । कांग्रेसका सभापति दुर्लभ थापा कम्तीमा पनि ३ वटा नगरपालिका जित्ने गरेर तयारी गरेका थिए । सभापति थापाले दिनभरि कांग्रेस भएर हिँड्ने र साँझ परेपछि एमाले बन्ने कांग्रेसका स्थानीय नेताहरूका कारण कांग्रेसका उम्मेदवार पराजित भएको बताएका छन् ।

उनले कांग्रेसका अन्तरघातीहरूलाई पार्टीमा बस्ने अधिकार नरहेको बताएका छन् ।

कांग्रेस भित्रको आन्तरिक असहयोगका कारण सूर्यविनायक नगरपालिका एमालेले जितेर लगेको छ ।

भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एकलौटी रुपमा जितेर लगेको छ । भक्तपुर नगरपालिकामा सबै वडाध्यक्षमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् । भक्तपुर नगरपालिकामा कांग्रेस, एमाले, माओवादीका मेयरका उम्मेदवारको जमानत जफत भएको छ ।

चागुनारायण नगरपालिकाको मेयरमा कांग्रेसका जीवन खत्री ९५५० मतसहित निर्वाचित भएका छन् । उप–मेयरमा एमालेका रमेश बुढाथोकी १११०७ मतसहित निर्वाचित भएका छन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसका सोमप्रसाद प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल र ४ मा एमालेका रोजबहादुर तामाङ निर्वाचित भएका छन् ।

वडा नं. ५ को वडाध्यक्षमा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्यामकृष्ण नयाँजु, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात निर्वाचित भएका छन् ।

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति २९२५२ मतसहित निर्वाचित भएका छन् । उप–मेयरमा नेमकिपाकी रजनी जोशी २९७५९ मतसहित निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा नेमकिपाका श्यामकृष्ण खत्री, २ मा नेमकिपाका हरिप्रसाद बासुकला, ३ मा नेमकिपाका राजकृष्ण गोरा, ४ मा नेमकिपाका उपेन्द्र सुवाल, ५ मा नेमकिपाका योगेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् ।

वडा नं. ६ को वडाध्यक्षमा नेमकिपाका हरिराम सुवाल, ७ मा नेमकिपाका उकेश कवां, ८ मा नेमकिपाका कृष्णप्रसाद कोजु, ९ मा नेमकिपाका रविन्द्र ज्याख्व र १० मा नेमकिपाका लक्ष्मीप्रसाद हयौमिखा निर्वाचित भएका छन् ।

मध्यपुर नगरपालिकाको मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५०९८ मतसहित निर्वाचित भएका छन् । उप–मेयरमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ १२१०२ मतसहित निर्वाचित भएका छन् ।

वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका बाबुकाजी डंगोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

वडा नं. ६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रसका सानुकाजी राजवाहक वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सूर्यविनायक नगरपालिकाको मेयरमा एमालेका बासुदेव थापा १४७५८ मतसहित निर्वाचित भएका छन् । उप–मेयरमा एमालेकी सरिता भट्टराई १४४९० मतसहित निर्वाचित भएकी छिन् ।

वडा नं. १ को वडाध्यक्षमा एमालेका सानुकाजी कायष्ठ, २ मा कांग्रेसका प्रदीप कार्की, ३ मा कांग्रेसका दीपेन्द्र केसी, ४ मा कांग्रेसका लछुराम न्यौपाने, ५ मा एमालेका राजकुमार जोशी निर्वाचित भएका छन् ।

वडा नं. ६ को वडाध्यक्षमा कांग्रेसका ईश्वर खड्का, ७ मा एमालेका रविन्द्र सापकोटा, ८ मा एमालेका पुष्पराज बस्नेत, ९ मा कांग्रेसका भगवान खत्री र १० मा एमालेका शिवराम राउत निर्वाचित भएका छन् ।

एमालेका नेता महेश बस्नेतले यस पटक पकड गुमाएका छन् । कांग्रेसका सभापति थापाका कारण पार्टीका उम्मेदवारहरू धेरै ठाउँमा विजयी भएका छन् ।

Published : Thursday, 2022 May 26, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया