छोरा हारेपछि तनाबमा परेका उपेन्द्र बालकोट छिरे, ओलीसँग मिल्ने संकेत

काठमाडौं । आफ्ना छोरा उप–मेयरमा पराजित भएपछि तनावमा परेका जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सुटुक्क भेट गरेका छन् ।

भक्तपुरको बालकोटमा अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीलाई दुई दिन अगाडि भेट गरेको स्रोतले जनाएको छ ।

उनीहरूबीच भएको कुराकानीका विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।

जसपाका एक नेताले भने, ‘हाम्रो अध्यक्ष उपेन्द्र यादवज्यू र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीज्यूबीच बालकोटमा भेट भएको छ । उहाँहरूका बीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा कुराकानी भएको बुझिएको छ ।’

उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयरमा उम्मेदवार बनाएका थिए । अमरेन्द्रको लज्जास्पद हार भएको छ ।

अध्यक्ष यादवले आफ्ना छोरालाई नेता बनाउन उप–मेयरमा उम्मेदवार बनाएका थिए । तर, आफ्नै पार्टीभित्रका लोकप्रिय नेताहरूलाई टिकट नदिएपछि रिसाएका मतदाताले अमरेन्द्रलाई हराइदिएका हुन् ।

अध्यक्ष यादवले नेपाली कांग्रेसले गठबन्धनमा धोका दिएको निष्कर्ष निकालेका छन् । कांग्रेसले धोका दिएको ठहर गरेका यादवले एमालेका अध्यक्ष ओलीसँग भेटेर ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेको चर्चा छ ।

यसैबीच, अध्यक्ष यादवले एमालेका अध्यक्ष ओलीसँग प्रतिनिधि सभाको निर्वाचनका विषयमा आफू उम्मेदवार बन्ने विषयमा पनि कुराकानी गरेका छन् ।

सप्तरीबाट विजयी भएका जसपाका अध्यक्ष यादवले आफ्नै नगरपालिका र वडा समेत गुमाएका छन् । सप्तरीमा यादवलाई निर्वाचन क्षेत्रमा संकट पर्ने देखिएको छ ।

अध्यक्ष यादवले प्रतिनिधि सभाको निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् केही भनेका छैनन् । उनले सप्तरी पनि छाड्ने तयारी गरेका छन् ।

हार्ने सम्भावना देखेपछि सुनसरी छाडेर सप्तरी आएका अध्यक्ष यादव पर्सातिर चुनाव लड्न जाने तयारी गरेको चर्चा जसपामा छ ।

Published : Wednesday, 2022 May 25, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया