राहदानी विभागले २ दिनदेखि हजारौँलाई दुःख दियो, महानिर्देशक अर्याल सिरक ओढेर सुते

काठमाडौं । राहदानी विभागको लापरबाहीले दुई दिनदेखि हजारौँ सर्वसाधारणले दुःख व्यहोर्नु परेको छ ।

विभागले ई–पासपोर्ट अनलाईनमार्फत आवेदन दिनका लागि मंगलबारदेखि समस्या दिएको छ । विभागका कर्मचारीहरूले अनलाईनमा फारम भर्नका लागि अनुमति दिएका छैनन् ।

विभागका महानिर्देशक डोरनाथ अर्याल कानमा तेल हालेर बसेका छन् । दुई दिनसम्म अनलाईनबाट फारम भर्नका लागि समस्या हुँदासम्म अर्यालले कुनै औपचारिक जानकारी दिएका छैनन् ।

अनलाईनमा आवेदन दिनका लागि आएको समस्याका बारेमा जानकारी लिन महानिर्देशक अर्यालसँग सम्पर्क गर्न खोज्दा सम्र्पक हुन सकेन । अर्यालले मोबाइल फोन अफ गरेर बसेका छन् ।

राहदानी विभागका कर्मचारीहरू अनलाईन फारम भर्ने साईबरका बिचौलियासँगको सेटिङमा अनलाईनमार्फत आवेदन दिने कुरालाई बिगारेर भित्रभित्रै असुलीधन्दा चलाएर ई–पासपोर्ट दिएको आरोप छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले ई–पासपोर्टको अनलाईन फारम भर्न आएको समस्याका बारेमा आफू अनभिज्ञ रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘राहदानी विभाग अलग छ । त्यहाँ महानिर्देशक हुनुहुन्छ । यो समस्याका बारेमा उहाँहरूलाई नै थाहा होला ।’

परराष्ट्रमन्त्री डा.नारायण खड्काले आनलाईनमार्फत ई–पासपोर्टमा आवेदन दिन देखिएको समस्याका बारेमा जानकारी लिएर समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले भने, ‘अनलाईनमार्फत फारम भर्न कुराको म भोलि (बिहीबार) नै समस्या समाधान गर्न पहल गर्नेछु ।’

हजारौं जनताले अनलाईनमार्फत ई–पासपोर्टका लागि आवेदन दिन नपाएका विषयमा मन्त्री डा.खड्कालाई कसैले पनि जानकारी दिएका छैनन् ।

परराष्ट्र मन्त्रालयले मंगलबार त्रिपरेश्वरमा राहदानी विभाग रहेकी भवनमा परराष्ट्र सेवा दिवस मनाइरहेका बेला हजारौँ सर्वसाधार फारम भर्न नपाएर दुःख व्यहोरिरहेका थिए ।

पासपोर्टको सहज व्यवस्थापन गर्न नसकेको भनेर आलोचना भएका बेला अनलाईनमा दुई दिनदेखि हजारौँ सर्वसाधारण फारम भर्न पाएका छैनन् ।

Published : Wednesday, 2022 May 25, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया