पोखरामा भारतले सरकारी विद्यालयको भवन बनाइदियो

काठमाडौं । भारतले पोखरामा सरकारी विद्यालयको भवना बनाइदिएको छ ।

नेपालका लागि भारतीय कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले मंगलबार भवनको उद्घाटन गरेकी छिन् । उनले सो भवन नेपाललाई हस्तान्तरण समेत गरेकी छिन् ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको खम्पाले उद्घाटन गरेकी हुन् ।

श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु ३ करोड ६३ लाखको लागतमा यस विद्यालय भवनको निर्माण भएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ ।

Published : Tuesday, 2022 May 24, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया