कपिलवस्तु कांग्रेस नेतृत्वको अहँकारले पार्टी सखाप, थापा बने लोकप्रिय मेयर

चन्द्रौटा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मेयरका उम्मेदवार अजय थापा विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार थापाले ७६०२ मतसहित निर्वाचित भएका छन् । थापासँग निकटतम प्रतिद्वन्द्वी एमालेका महादेव पोखरेल ७१२८ मतसहित पराजित भएका छन् ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार हुमकान्त खनाल ५४७७ मतसहित तेस्रो स्थानमा छन् ।

मेयरमा निर्वाचित भएका राप्रपाका थापा कांग्रेसका नेता थिए । थापालाई कांग्रेसले टिकट नदिएपछि राप्रपामा प्रवेश गरेर फराकिलो मतको अन्तरबाट मेयरमा निर्वाचित भएका छन् ।

कांग्रेसको क्षेत्रीय र जिल्ला नेतृत्वले थापाको असली राजनीतिक पहिचान बुझ्न नसक्दा जितेको शिवराज नगरपालिका गुमाएको छ ।

शिवराज नगरपालिकामा यसअघि एमालेले जितेको थियो । बलियो एमालेलाई हराएर धुलो चटाउने भनेको थापा मात्रै थिए । तर, कांग्रेसको जिल्ला नेतृत्वको अहँकारले शिवराज गुमेको छ ।

राप्रपाले शिवराजमा कुनै पनि वडामा वडाध्यक्ष जित्न सकेको छैन । व्यक्तिगत लोकप्रियताले थापाले मेयरमा जितेर राप्रपाको नाक जोगाइदिएका छन् । शिवराजमा मात्रै नभएर कपिलवस्तु कांग्रेसको नेतृत्वको अहँकार र व्यक्तिवादी चरित्रले जिल्लाभरि कांग्रेस बढारिएको छ ।

उप–मेयरमा एमालेकी शिवकुमारी चौधरी ७९५५ मतसहित निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शारदा कार्की ६१८५ मतसहित पराजित भएकी छिन् ।

वडा नं. १ मा एमालेका खिमबिक्रम केसी, २ मा कांग्रेसका रामबहादुर चौधरी, ३ मा एमालेका टेकलाल सापकोटा, ४ मा लाकतान्त्रिक समाजवादी पार्टी नेपालका नसीम अहमद खाँ, ५ मा एमालेका नेत्रप्रसाद बेल्वासे वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नं. ६ मा जनता समाजवादी पार्टी नेपालका माहेताब आलम खाँ, माओवादीका अनुपकुमार चौधरी, ८ मा रिजवान अहमद, ९ मा माओवादीका रामगोपाल चौधरी थारु, १० मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मञ्जु मिश्र र ११ मा कांग्रेसका रामेश्वरप्रसाद बर्मा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Published : Monday, 2022 May 23, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया