राप्ती गाउँपालिकामा जनमोर्चाले खाता खोल्यो, वीरबहादुरको शानदार जित

मसुरिया । दाङको राप्ती गाउँपालिकाको वडा नं. ४ मा राष्ट्रिय जनमोर्चाका वीरबहादुर चौधरीले वडाध्यक्षमा जित हातपारेका छन् ।

मंगलबार बिहान सार्वजनिक भएको नतिजाअनुसार वीरबहादुरले ९६८ मत पाएका हुन् । उनको प्यानल नै निर्वाचित भएको छ ।

वीरबहादुरले निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दुराज चौधरीलाई पराजित गरेका हुन् । नन्दुराजले ८६५ मत पाएका थिए ।

नेपाली कांग्रेस यो वडामा तेस्रो नम्बरमा आएको छ । कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेका विष्णुबहादुर घर्ती क्षेत्रीले ५४९ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा क्षेत्रीले जित हात पारेका थिए ।

वडा सदस्यमा समिता चौधरी (राष्ट्रिय जनमोर्चा), बालिका सुनार (माओवादी केन्द्र), रोशन चौधरी (माओवादी केन्द्र) र विष्णु पोखरेल (माओवादी केन्द्र) विजयी भएका छन् । उनीहरू सबैले चुनाव चिन्ह गिलास लिएर प्रतिस्पर्धा गरेका थिए ।

वडाध्यक्षमा विजयी भएपछि वीरबहादुरले मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् । उनले भने, ‘मलाई मतदान गरेर विजयी गराउने र सहयोग गर्ने सबै शुभेच्छुकलाई धन्यावाद दिन चाहन्छु ।’

वीरबहादुरले आफ्नो कार्यकालमा सबै वडावासीलाई भेदभाव नगरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘मैले जुन पार्टीबाट प्रतिनिधित्व गरेर जिते पनि अब म सबैको वडाध्यक्ष र जनप्रतिनिधि हुँ । भेदभाव गर्नु भनेको अपराध हुनेछ ।’

जनमोर्चाको लामो राजनीति गरेका वीरबहादुर पहिलो पटक जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।

राप्ती गाउँपालिकामा वीरबहादुरले वडाध्यक्षमा जित हासिल गरेपछि जनमोर्चाले पहिलो पटक खाता खोलेको छ ।

यो गाउँपालिकामा जनमोर्चा र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रकाश विष्ट र जनमोर्चाबाट केशवराज खनाल उम्मेदवार बनेका छन् ।

Published : Tuesday, 2022 May 17, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया