मतदानका क्रममा पत्रकारलाई समाचार संकलनमा अबरोध, महासंघद्धारा विरोध

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का क्रममा विभिन्न जिल्लामा समाचार संकलनका लागि रोक लगाइएका घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले शुक्रबार बेलुका विज्ञप्ति जारी गरेर निर्वाचनअन्तरगत मतदानका दिन विभिन्न जिल्लामा राजनीतिक दल, सुरक्षाकर्मी र निर्वाचन अधिकृतबाट पत्रकारलाई मतदान केन्द्रमा प्रवेश नदिने, क्यामेरा र मोबाइल जफत गर्ने, सवारी आवागमनमा अवरोध गरिएको जनाएका छन् ।

चितवन, नवलपरासी, पर्सा, स्याङ्जालगायतका जिल्लामा पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको उनले जनाएका छन् ।

निर्वाचन आयोगले पत्रकारलाई मतदानका दिनका लागि सवारी पास उपलब्ध गराउन सहजीकरण गरे पनि सबै जिल्लामा एउटै प्रकारको कार्यविधि लागू नहुनु दुःखद् हो, विज्ञप्तिमा भनिएको छ, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न महासंघ निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउँदछ ।

पुरीले भनेका छन्, मतदान लगत्तै हुने मतगणनाको समाचार संकलनमा मतदानमा जस्तो अवरोध नआउने विश्वास व्यक्त गर्दै महासंघ मतगणनाको सहज तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।

दाङको चौघेरामा पनि पत्रकारहरुलाई मतदानस्थलको तस्बिर लिन अबरोध गर्ने, मोबाइल फोन बाहिर राख्ने जस्ता हर्कत भएका थिए ।

Published : Friday, 2022 May 13, 8:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया