घोराहीको चौघेरामा ग्राभेलले भरिएका एमालेका टिप्परहरु र एक्जाभेटर प्रहरीद्धारा कब्जा

घोराही । दाङको घोराही उपमहानगरपालिकाको वडा नं. १७ बाट प्रहरीले दुई वटा टिप्पर र एउटा एक्जाभेटरलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान अनुमति नलिएर चौघेरा क्षेत्रबाट ग्राभेल लोड गरेर गोग्लीको सडकमा भर्न लैजान लागेका रा २ ख १८९४ र रा २ ख १८९५ नम्बरका टिप्परलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका टिप्पर र एक्जाभेटर चौघेरास्थित श्री गोरक्षरत्ननाथको मन्दिर परिसरमा राखिएका छन् ।

चौघेरास्थित अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार डिल्लीबहादुर रानाले ग्राभेलले भरिएका दुई वटा टिप्पर र टिप्परमा ग्राभेल भर्न प्रयोग गरिएको एउटा एक्जाभेटर नियन्त्रणमा लिएको स्वीकार गरे पनि थप सूचना जिल्ला प्रहरी कार्यालय दाङबाट लिन आग्रह गरे । नियन्त्रणमा लिइएका टिप्पर र एक्जाभेटरका विषयमा थप अनुसन्धान भइरहेको हवल्दार रानाको भनाइ छ ।

टिप्परहरुले कुनै पनि अनुमति लिएका थिएनन् । अनुमतिको कागजपत्र नभएपछि प्रहरीले ती टिप्पर र एक्जाभेटर नियन्त्रणमा लिएको छ । निर्वाचन सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरेर छाडिनेछ । प्रहरीले पक्राउ गरेका टिप्पर र एक्जाभेटर लेखराज केसीका हुन् । निर्वाचनका बेला केसी नराम्रोसँग फसेका छन् ।

एमालेका उम्मेदवारहरुले गोग्लीमा सडकमा आचारसंहिता उल्लंघन गरेर ग्राभेल लैजान खोजेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसका नेता पुरुषोत्तम शर्माले मौन अवधि शुरु भइसकेको अवस्थामा ग्राभेल टिप्परमा भरेर गोग्ली लगेर बाटोमा खसाल्न लागेको सूचना आफूहरुले पाएको बताए ।

ग्राभेल गर्नुनै छ भने कि निर्वाचन अगाडि कि निर्वाचन सकिएपछि गरेको भए हुनेभन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने अधिकार कसैको नरहेको बताए ।

कांग्रेसका नेताहरुले सूचना दिएपछि प्रहरीले टिप्पर र एक्जाभेटर कब्जा गरेको हो । एमालेका नेताहरुसँग आरोपका विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Published : Thursday, 2022 May 12, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया