एमालेका वडाध्यक्षका उम्मेदवार झोलाभरि पैसा बोकेर बाँड्न हिँडे, प्रहरीद्धारा पक्राउ

वीरेन्द्रनगर । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–११ का एमालेका वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको हो ।

बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली पुगेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा १ लाख १ हजार रुपियाँ झोलामा राखेको नगद समेत फेला परेको थियो ।

‘प्रहरी पुगेर हेर्दा नगद र उनी मतदाताको घरमा भेटिनुभएको हो, त्यसपछि नगदसहित बिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘यसबारे थप अनुसन्धान हुन्छ ।’

नियन्त्रणमा लिईएका उम्मेदवार बिसीलाई गुर्भाकोटमै रहेको ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भईसकेको छ ।

Published : Thursday, 2022 May 12, 8:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया