मध्यराति कटुन्जे छिरेका महेश बस्नेतका उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिए, एमालेहरु खोलैखोल भागे

काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको वडा नं. ५ का एमालेका वडाध्यक्षका उम्मेदवार राजकुमार जोशी र वडा सदस्य मनोज थापाले निर्वाचन आयोगले जारी गरेको मौन अवधिको उल्लंघन गरेर मतदाता प्रभावित पार्न खोजेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

बुधबार मध्यराति करीव १२ बजे एमालेका नेताहरु पैसा बोकेर मतदातालाई बाँड्न हिँडेको चालपाएपछि स्थानीयले रोकेर नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रहरीलाई बोलाएर एमालेका वडाध्यक्ष जोशीसहितका नेता कार्यकर्तालाई जिम्मा लगाएका थिए । प्रहरी चौकरीमा लगेर हाजिर हुने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरीका प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा एमालेका वडाध्यक्ष जोशीसहितका केही व्यक्तिहरुले आचारसंहिता उल्लंघन गरेको बताए । प्रहरी प्रमुख श्रेष्ठले आचारसंहिता उल्लंघन गर्नेलाई प्रहरीले आफ्नो कारबाही प्रक्रिया गरेर छाडेको बताएका छन् । निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नपाइने उनले बताएका छन् ।

स्थानीयले नियन्त्रणमा लिएपछि एमालेका केही नेताहरु खोलाखोलै भागेको प्रत्यक्षदर्शीको भनाइ छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताका कुनै पनि कार्य नगर्न भनेका बेला एमालेका वडाध्यक्षकै उम्मेदवार मतदाता प्रभावित बनाउन मध्यराति हिँड्नु उचित नभएको बताए ।

कांग्रेसले मतदान हुनुभन्दा अगाडि र मौन अवधि शुरु भइसकेको अवस्थामा मध्यराति मतदाताहरुलाई प्रभावमा पार्न र पैसा बाँड्नका लागि एमालेका वडाध्यक्षका उम्मेदवार र नेताहरु हिँडेको आरोप लगाएको छ ।

वडाध्यक्षका उम्मेदवार जोशीसँग सम्पर्क हुन सकेन । एमालेका नेता महेश बस्नेतको निर्देशनमा वडाध्यक्षका उम्मेदवारहरु गाउँमा छिरेको आरोप छ ।

Published : Thursday, 2022 May 12, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया