उदण्ड दावाद्वारा एन्फामा गुण्डाशैलीमा ‘अट्याक’, प्रहरीद्वारा खोजी, विधानको उल्लंघन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्य दावा लामाले कार्यालयमा तोडफोड गरेर उदण्डता देखाएका छन् ।

लामासहितको समूहको उदण्डताले गर्दा ‘बी’ र ‘सी’ डिभिजन लिगको प्रतिनिधि छनोट प्रक्रिया स्थगित भएको छ ।

निर्देशिका र विधान विपरीत एन्फा कार्यसमितिमा लामासहितका तीन जना आ–आफ्नो क्लबबाट प्रतिनिधि भएर ‘सी’ डिभिजनको प्रतिनिधि छनोट भेलामा समावेश भएका थिए ।

एन्फाको कार्यसमितिका सदस्य दावा लामा प्लानिङ ब्वाइज क्लब, मानार्थ सदस्य रुपेश अधिकारी सांग्रिला स्पोर्टस एकेडेमी तथा एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस क्लबबाट विधान विपरित प्रतिनिधि भएर ‘सी’ डिभिजन प्रतिनिधि छनोट भएका थिए ।

एन्फाको निर्देशिका र विधानअनुसार कार्यसमितिमा रहेका अध्यक्ष, पदाधिकारी र सदस्यहरू आबद्ध रहेको क्लवबाट प्रतिनिधि हुने व्यवस्था छैन ।

लामासहितका समूहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि प्रतिनिधि हुन नपाउने डरले कार्यालयमा तोडफोड र कम्प्युटर फुटाएका हुन् । लामा समूहको तोडफोडको मुचुल्का उठाएर प्रहरीले लगेको छ । लामा समूहको हिसाव किताव प्रहरीले राम्रैसँग राखेको छ ।

लामा समूहले एन्फाको निर्वाचन विथोल्न निर्देशिका र विधानको व्यवस्था विपरितका हर्कत गरेर आरोप छ । निर्वाचन समितिले भेला स्थगितका लागि सूचना टाँसेको छ ।

रिसको आवेगमा आएका एन्फाका सदस्य लामाले कम्प्युटर र प्रिन्टर तोडफोड गरेको एन्फा महासचिव ईन्द्रमान तुलाधरले जानकारी दिएका छन् । लामाले झ्याल र ढोकामा समेत लात्ताले हानेर उत्पात मच्चाएका थिए ।

सदस्य लामाले आफूविरुद्ध उजुरी दिन आउनेलाई कुट्छु र पिट्छु भनेर ढोका छेकेर बसेका थिए । लामासँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।

महासचिव तुलाधरले दावा लामाले आफैले तोडफोड गरेको बताएका छन् । लामाले साँझ पौने ७ बजेतिर तोडफोड गरेका थिए ।

एन्फाको निर्वाचन जेठ १५ गते हुनेछ । एन्फा निर्वाचनमा मताधिकार प्रनिधिति छान्नका लागि ‘सी’ र ‘बी’ डिभिजन क्लबका प्रतिनिधिको भेला बिहीबारको लागि डाकिएको थियो ।

‘सी’ डिभिजनको प्रतिनिधि छनौटमा विवाद भएपछि ‘बी’को प्रक्रिया अघि बढ्न पाएको छैन ।

‘सी’ र ‘बी’मा समान १४ क्लब छन् । ‘सी’बाट ९ र ‘बी’ डिभिजनबाट ११ जना प्रतिनिधिले एन्फा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउँछन् ।

क्लबबाट आउने प्रतिनिधिले एन्फा निर्वाचनका लागि प्रतिनिधि चय गर्नेछन् ।

महासचिव तुलाधरले एन्फाको विधान र हालै विशेष साधारण सभाबाट पास गरिएको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईयो, सह–कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूले क्लब वा जिल्ला संघको प्रतिनिधि हुन नपाउने व्यवस्था छ ।

निर्वाचन समितिले विवाद समाधान गर्न नसके अपील कमिटीमा पठाइने महासचिव तुलाधरले बताएका छन् ।

एन्फा निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले बिहीबार प्रतिनिधिका विषयमा लिखित उजुरी पेश भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको बताएका छन् ।

‘बी’ र ‘सी’को निर्वाचन तालिका सार्वजनिक भएको थियो । चैत २० गते जिम्मेवारी प्राप्त भएपछि चैत्र २१ गते क्लवहरूलाई पत्राचार भएको थियो । क्लवहरूले प्रतिनिधि पठाएका थिए । केही क्लवहरूले एन्फाको विधान र निर्देशिका विपरित प्रतिनिधि पठाएका थिए ।

यसैबीच, महानगरीय प्रहरी सातदोबाटोका प्रहरी प्रमुख (डीएसपी) दिनेश घिमिरेले एन्फामा तोडफोड भएको विषयमा आफूहरू मुचुल्का उठाएर ल्याएको बताए । प्रहरी घटनास्थलमा पुगेका बेला तोडफोडमा संलग्नहरू फरार भइसकेकाले पक्राउ गर्न नसकिएको घिमिरेले बताएका छन् ।

‘एन्फाबाट उजुरी पनि आएको छैन’, उनले भने, ‘तोडफोडमा संलग्नलाई हामीले खोजी गरिरहेका छौँ । भेट्यौँ भने पक्राउ गरेर अनुसन्धान र कारबाही गर्छौं ।’

Published : Friday, 2022 April 8, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया