चैतको दोस्रो हप्ता १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने, राम्रा खेलाडी छान्न सक्रिय बन्यो संघ

काठमाडौं । नेपाल तेक्वान्दो संघले चैतको दोस्रो हप्ता ‘१७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ आयोजना गर्न लागेको जनाएको छ ।

संघका उपाध्यक्ष एवम् प्रतियोगिता आयोजक समितिका संयोजक भानबहादुर चन्दले शुक्रबार ललितपुरको सातदोवाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलन गरेर चैतको १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

‘कोरोनाको महामारी र स्वास्थ्य सुरक्षाका कारण लामो समयदेखि रोकिएको खेल गतिविधिलाई सुचारु गरी आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने गरी देश र नेपाल जनताका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट पदक हासिल गर्ने सम्भावित योग्य र उदियमान खेलाडीहरूको समेत पहिचान गर्दै अन्तर्राष्ट्रिय सहभागिताको तयारीर्लाइ तिब्र पार्ने उदेश्यले आयोजना हुने यो राष्ट्रिय प्रतियोगिता खेलाडीहरूका लागि एक महत्वपूर्ण अवसरका रुपमा रहनेछ’, चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

संघले प्रतियोगिता आयोजना गर्न उपाध्यक्ष चन्दको अध्यक्षतामा ९ सदस्यीय आयोजक समिति र संघका केन्द्रीय सदस्य राम गिरीको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

संयोजक चन्दले खेलकुद विकास ऐन २०७७ अनुसार राष्ट्रिय संघहरूले प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुपर्ने प्रावधान रहेको जनाएका छन् ।

उनले संघको नीति तथा कार्यक्रम बमोजिम वार्षिक रुपमा राष्ट्रिय प्रतियोगिता गर्ने योजनाअन्तर्गत राष्ट्रिय प्रतियोगिता हुन गइरहेको जनाएका छन् ।

केन्द्रीय सदस्य एवम् आयोजक समितिका संयोजक गिरीले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरूको पहिचान गर्दै तयारी पक्षलाई द्रूत गतिमा सञ्चालन गर्ने नेपाल तेक्वान्दो संघको योजना रहेको छ ।’

प्रतियोगितामा सात प्रदेश टिम र विभागीय टिम गरी जम्मा १० वटा टिमका खेलाडीहरू सिनियर र जुनियर गरी जम्मा २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि प्रतियोगिताका लागि फागुन महिनामा विभिन्न जिल्ला तथा प्रदेश टिमको छनौट सम्पन्न भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रदेश तथा विभागीय समेट १० वटा टिमका साथै प्रदेश छनौट प्रतियोगितामा देखिएका उत्कृष्ट तथा उदयमान सम्भावित देखिएका अतिरिक्त ४२ जना समेत गरी करीव ३ सय जना खेलाडीहरूको सहभागिता हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करीव ३६ लाख खर्च हुने अनुमान छ ।

Published : Friday, 2022 March 25, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया