पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता शुरु

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ ।

संघका संरक्षक कुमार मोहनबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका छन् । उनले आफू पनि लामो समयदेखि टेनिस खेल्दै आएको बताएका छन् ।

उनले टेनिस खेलले जित्ने हौसला प्रदान गर्ने, आत्माविश्वास बढाउने, शारीरिक तथा मानसिक रुपमा बलियो बनाइराख्ने बताएका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हरेक वर्ष दुई लाख रुपियाँ सहयोग गर्ने तथा खेलाडीको वृद्धि विकासका लागि आफ्नो बुवाआमाको नाममा ४ लाख रुपियाँको अक्षयकोष राख्ने पनि उनले बताएका छन् ।

प्रदेश खेलकुद विकास समिति, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ्ग, फिष्टेल एकेडेमीका प्राचार्य चिनु रानाभाट, गण्डकी बोर्डिङ्ग स्कुलका प्राचार्य वीरेन्द्र खड्का, टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ लगायतले पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी शुरुवात गरेका छन् । ८ वर्षमुनिका नेपाल च्याम्प पौडेलले आफ्नै उमेर समूहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गरेका हुन् ।

८ वर्षमुनिका अन्य खेलहरूमा निरज टण्डनले आदित्य केसीलाई, नितेस थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गरे ।

८ वर्षमुनिकै गर्ल्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गरिन् ।

१४ वर्षमुनिको गर्ल्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङ्गले स्वस्तीका विष्टलाई पराजित गरिन् ।

१४ वर्षमुनिको ब्वाइज सिंगल्समा राजवीर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशीले जीवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शिल श्रेष्ठले एड्रिन थापालाई पराजित गरेका छन् ।

प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरूले गिफ्टह्याम्पर्स, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गर्ल्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यु–१४ ब्वाईज एण्ड गर्ल्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यु–१६ ब्वाइज एण्ड गर्ल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्करा प्राप्त गर्नेछन् ।

ओपन ब्वाइज एण्ड गर्ल्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Published : Monday, 2022 March 21, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया