ललितपुर खेलकुद विकास समितिको अध्यक्षमा विनोद नियुक्त, सभापति बानियाँलाई दिए धन्यावाद

लगनखेल । करातेका पूर्व राष्ट्रिय खेलाडी विनोद महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दल नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा महर्जनलाई बागमती प्रदेशका खेलकुद मन्त्रीले अध्यक्षमा नियुक्त गरेका हुन् ।

अध्यक्ष महर्जनलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले कार्यकालको शुभकामना र बधाइ दिएका छन् ।

मीनकृष्णले भने, ‘ललितपुर जिल्लाको खेलकुदको विकासमा राम्रो काम गर्नु होला । तपाईको कार्यकालमा खेल, खेलाडी र प्रशिक्षकहरूले उच्चमनोवलका साथ काम गर्ने वातावरण निर्माण गर्नु होला ।’

अध्यक्ष विनोदले पनि आफू खेलकुदको विकासमा काम गर्न कुनै कसर नछोड्ने बताएका छन् । ‘मलाई अध्यक्षमा नियुक्त गर्न पहल गर्ने सबैलाई धन्यावाद दिन चाहन्छु’, अध्यक्ष विनोदले भने, ‘मलाई सबैको साथ र सहयोग चाहिन्छ । सबैको सहयोगले मेरो कार्यकाल सफल हुनेछ ।’

ओलम्पियन खेलाडी एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सागमा स्वर्ण पदक विजेता विप्लव श्रेष्ठ, करातेका पूर्व राष्ट्रिय खेलाडी दयाराम महर्जन, मृगेन्द्र महर्जनलगायतले पनि अध्यक्ष महर्जनलाई शुभकामना र बधाइ दिएका छन् ।

अध्यक्षमा नियुक्त भएका विनोद महर्जन परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले उत्पादन गरेका करातेका खेलाडी हुन् ।

Published : Friday, 2022 March 18, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया