राजेश हमालको स्वर रहेको ‘गाउँले ठिटो’ रिलिज, स्वर सुनेर मधु मख्ख

काठमाडौं । अभिनेता राजेश हमालको स्वर रहेको ‘गाउँले ठिटो’को गीत रिलिज भएको छ ।

शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरेर म्युजिक भिडियो रिलिज गरिएको हो । गीतको संगीत सन्तोष श्रेष्ठले दिएका छन् । शब्द गोविन्द भट्टले लेखेका हुन् । म्युजिक भिडियोका निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

कार्यक्रमहरूमा बिरलै देखिने मधु भट्टराई हमाल ‘गाउँले ठिटो’को म्युजिक भिडियो रिलिजको कार्यक्रममा पूरै समय उपस्थित भइन् । आफ्ना पति राजेश हमालको स्वर र अभियन रहेको म्युजिक भिडियो भएकै कारण पनि उनी कार्यक्रममा सहभागी भएर प्रतिक्रिया समेत दिएकी हुन् ।

मधुले भनेकी छिन्, ‘गाउँले ठिटो गीत राम्रो भएको छ । गीत बनाउने सुरुको कार्यदेखि छायाँकनसम्म म पगेकी थिएँ ।’ उनले राजेश हमालको स्वरमा गीत बन्दा आफू अचम्म परेको समेत सुनाएकी छिन् । उनले भनेकी छिन्, ‘उहाँको स्वर गीतमा सुहाएको छ । गीत राम्रो बनेको छ ।’

अभिनेता राजेश हमालले पनि गीत र म्युजिक भिडियोको प्रशंसा गरेका छन् । कोरोनाको समयमा उनले फिल्मको निर्देशनको तयारी गर्ने गरेर प्रोजेक्ट तयार पारेका बेला नयाँ खालको काम आएपछि आफूले काम गरेको बताए ।

राजेश हमालले भने, ‘देवेन्द्र भाई र सन्तोष भाईले सुरुमा आएर यस्तो प्रजोक्ट छ काम गरौँ भन्नुभयो । कुरा सुनेपछि हुन्छ भने ।’

गीत रेकर्डिङका बेला गायक राजेशपायल राईले आफूलाई फोन गरेको प्रशंग कोट्याउँदै राजेश हमालले भने, ‘यो गीतमा सन्तोषजीले गाउनु भएको सानो अंश राजेशपायल राईले गाउन माग्नुभएको थियो । गीत रेकर्ड भइसकेका कारण उहाँलाई यो गीतमा समावेश गराउन सकिएन । दुःख लागेको छ ’

संगीतकार श्रेष्ठले पनि गीतमा राजेश हमालद्वारा गरिएको कामको प्रशंसा गरेका छन् । निर्देशक देवेन्द्र पाण्डेले पनि गीत र म्युजिक भिडियोमा टिमले गरेको कामले आफू सन्तुष्ट बनेको बताए । गीतकार गोविन्द भट्टले गाउँले ठिटोबाट आएको फिडब्याकले अर्को प्रोजेक्ट ल्याउन आफू उत्साहित भएको बताएका छन् ।

Published : Friday, 2022 March 11, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया