काठमाडौंसहित विभिन्न स्थानमा जुवाको अड्डामा प्रहरीको छापा, ५४ जना पक्राउ

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानमा प्रहरीले छापामारेर जुवातास खेल्ने ५४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

यता, ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखास्थित एकबहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

टहरामा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८५ हजार ३ सय ३० रुपियाँ र ८ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यता, दाङको घोराही उप–महानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–८ घर भएका ५२ वर्षीय गोपालबहादुर कुँवर लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त लजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार ३ सय ५ रुपियाँ र ७ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

त्यसैगरी, बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९४ हजार ५ सय रुपियाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2022 March 6, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया