इतिहाँस रच्दै मच्छिन्द्र क्लबद्वारा उपाधि कब्जा

काठमाडौं । मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तिम खेलमा एपीएफलाई २–१ ले पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको हो । मच्छिन्द्र दुई खेलअघि नै उपाधि पक्का गरेको थियो । च्याम्पियन बनेर उसले ७५ लाख रुपियाँ पुरस्कार पाएको छ ।

एपीएफको भने ९ खेलको अपराजित यात्रा शनिबार टुंगिएको थियो । मच्छिन्द्रले अपराजित यात्रासहित उपाधि जितेको छ ।

मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचौं टोलीसमेत बन्यो । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ म्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए ।

मच्छिन्द्रका लागि कार्यबाहक कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले गोल गरे । एपीएफका लागि प्रदीप लामाले बराबरी गोल फर्काए ।

कप्तान सुजल श्रेष्ठ दोहोरो पहेँलो कार्डका कारण एपीएफविरुद्धको खेलमा खेल्न नमिल्ने भएपछि रञ्जित धिमालले मच्छिन्द्रको कप्तानी गरेका थिए ।

चोटका कारण रञ्जित पनि खेल सुरु भएको केही मिनेटपछि नै मैदान बाहिरिएपछि अभिषेकले आर्मब्याण्ड लगाएका थिए ।

अभिषेकले खेलको ४२औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाको पासमा गोल गरे ।

दोस्रो हाफको सुरुवात देखि आक्रामक प्रदर्शन गरेको एपीएफका लागि ६९औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए ।

लिगको पहिलो खेलमै एनआरटीलाई २–१ ले हराउँदा ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक बाट गोल गर्नुबाहेक मच्छिन्द्रलाई अन्तिम खेलमा एपीएफले मात्र गोल गर्न सक्यो ।

शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दीसंग १–१ को बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दोस्रो स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपियाँ पक्का गरेको थियो ।

एनआरटी नेपाल पुलिस क्लबलाई ३–१ ले हराएर तेस्रो भयो । एनआरटीले २५ लाख हात पार्‍यो ।

मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् ।

तीन जनाले मनाङ म्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।

Published : Saturday, 2022 February 26, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया