महर्जनद्वारा भारदेउ डोजोको प्रशंसा, खेलको ज्ञान नभएका मन्त्री र सदस्य सचिवले गर्दा खेलाडीको भविष्य अन्धकार

चापागाउँ । नेपाली कांग्रेस प्रभावशाली युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले खेलकुदको ज्ञान नभएका खेलकुद मन्त्री र सदस्य सचिव खेलकुदमा आउने गरेकाले खेलाडीहरूको भविष्य अन्धकार भएको बताएका छन् ।

सितोरियो कराते डो ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिकाको भारदेउ डोजोले शनिबार आयोजना गरेको बेल्ट अप–ग्रेट तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका महर्जनले मन्त्री र सदस्य सचिवहरूले खेल क्षेत्र बुझ्दाबुझ्दै समय वित्ने गरेको बताए ।

‘खेलकुद मन्त्री र सदस्य सचिवको अबधि १ वर्ष हुन्छ । उनीहरूलाई खेलकुदका विषयमा ज्ञान नै हुँदैन’, उनले भने, ‘उनीहरूले खेलकुदका बारेमा सिक्न र जान्न २ वर्ष लाग्छ । अनि खेलकुदको कसरी विकास हुन्छ ?’

‘खेलकुद मन्त्री होस्, चाहे सदस्य सचिव होस्, खेलकुद बुझेको, खेलकुदमा भिजेको व्यक्ति मन्त्री र सदस्य सचिव भएर आउनुपर्छ’, कांग्रेस नेता महर्जनले भनेका छन् ।

नेता महर्जनले कोञ्ज्योसोम जस्तो दुर्गम ठाउँमा सयौं खेलाडी उत्पादन गरेको भन्दै भारदेउ डोजो प्रमुख दिलबहादुर तामाङलाई कराते महासंघको तर्फबाट विशेष पुरुस्कारको व्यवस्थापन गरिने बताएका छन् ।

उनले राष्ट्रको पहिचान भनेकै खेलकुद रहेको भन्दै खेलकुदले नै राष्ट्रको नाम विश्वभरि पहिचान गराएको बताए ।

कार्यक्रममा नेपाल कराते महासंघका सहायक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उसु खेलका अन्तर्राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ, करातेका पूर्व राष्ट्रिय खेलाडी रवि सिलवाल, द्वारिका श्रेष्ठ, रञ्जित महर्जन, स्थानीय नेता दीपक मोक्तान, सुशील मोक्तान लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सभापतित्व भारदेउ डोजो प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेस कोञ्ज्योसोम गाउँपालिका नेता जीवन तामाङले गरेका थिए ।

बेल्ट अप–ग्रेट ६४ जना रहेको डोजो प्रमुख दिलबहादुर तामाङले बताएका छन् । कार्यक्रममा भाग लिन गएका युवा नेता महर्जनलाई स्थानीय र खेलाडीहरूले भव्य स्वागत गरेका थिए ।

Published : Saturday, 2022 February 26, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया