भक्तपुरमा अवैध काम गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेका चिनियाँ नागरिकसहित ८० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

भारतीय मुलका युवा युवतीहरूलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजारसम्म सानो–सानो मात्रामा ऋण लगानी गरी निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरूलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने कार्य गरिएको थियो ।

ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य संचालन गर्ने वाङजिनावले नेपाली युवा युवतीहरूको प्रयोग गरी कल सेन्टर संचालन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो ।

उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।

Published : Tuesday, 2022 February 22, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया