नियम मिचेर खेलाडीको नाममा राखेपका कर्मचारी श्रेष्ठको अबैध धन्दा, खेलाडी–प्रशिक्षकहरू दिक्क

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका कर्मचारीतर्फका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले पदीय जिम्मेवारीअनुसारको काम नगरेको भनेर आलोचना भएका छन् ।

तेक्वान्दोका खेलाडी र प्रशिक्षकहरू श्रेष्ठको हर्कतबाट दिक्क भएका छन् । देशभरिका ९६ जना प्रशिक्षकहरूका बारेमा काम गर्नुपर्ने श्रेष्ठले कमाउधन्दातिर ध्यान केन्द्रित गर्दा आलोचना भएको हो ।

श्रेष्ठले काठमाडौंको कोटेश्वरमा आफ्नै डोजाङ खोलेका छन् । त्यो डोजाङमा राखेपबाट सरकारी सहायता लिने गरेको आरोप छ ।

श्रेष्ठविरुद्ध राखेपामा मौखिक उजुरीहरू प्रशस्त परेका छन् । तर, राखेपको निकम्मा नेतृत्व श्रेष्ठसँग डराएर थुरुरु भएर बसेको छ । श्रेष्ठ राखेपामा ‘पशुपतिको साँढे’ जस्तै गरेर मन्द्राउँदा समेत राखेपको नेतृत्व चुपचाप छ ।

यसैबीच, प्रमुख प्रशिक्षक श्रेष्ठविरुद्ध युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसम्म उजुरी परेको छ ।

तेक्वान्दोका खेलाडी र केही प्रशिक्षकहरूले श्रेष्ठले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कार्यहरू गरेको भन्दै मन्त्रीसम्म गुनासो पुर्‍याएको एकजना खेलाडीले बताएका छन् ।

प्रमुख प्रशिक्षक श्रेष्ठका विषयमा परेको मौखिक उजुरी र उनको हर्कतका विषयमा मन्त्री गहतराजसँग प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गर्दा फोन उठेन ।

राखेपको प्रक्रिया लिन वेबसाइटमा रहेको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । वेबसाइटमा कुनै पनि पदाधिकारीको फोन राखिएको छैन । यसअघि, श्रेष्ठसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा राम्रोसँग कुरा गरेनन् । कुरागर्दा गर्दै बीचमै फोन काटिदिएका थिए ।

श्रेष्ठलाई रमेश सिलवालका कारण ठूलो लाभ मिलेको थियो । सिलवालले नै श्रेष्ठलाई संरक्षण गरेका कारण उनको मनोबल उच्च बनेको थियो ।

Published : Wednesday, 2022 February 16, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया