‘किशुनजी’को स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिता, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, जिल्ला प्रमुख डोजो लगनखेल र नेपाल कराते महासंघले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता चैतमा हुने जानकारी दिइएको छ । प्रतियोगिताको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । पुरस्कार वितरण नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले गर्नेछन् ।

प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म ललितपुरको सातदोबाटोमा हुनेछ ।

करातेका मुख्य प्रशिक्षक हीरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल समूहका पदक विजेता ८४ खेलाडी एसियाली खेलकुदको प्रारम्भिक छनोटमा पर्ने जानकारी दिए ।

प्रतियोगिताका सह–संयोजक विनोद महर्जनले प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी) गरी १० टोलीको सहभागिता रहने जानकारी दिएका छन् ।

महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरी महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आठौं दक्षिण एसियाली खेलकुद (साग) करातेका स्वर्ण पदक विजेता समेत रहेका लोकतान्त्रिक खेलकुद संघका सदस्य रवि महर्जनको संयोजकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि ४७ लाख रुपियाँभन्दा धेरै खर्च लाग्ने अनुमान छ ।

टिम च्याम्पियनलाई उपाधिसहित १ लाख रुपियाँ प्रदान गरिने प्रतियोगिताका मुख्य सल्लाकार मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।

महिला र पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष समेत रहेका मुख्य सल्लाहकार महर्जनले आफ्नो पृष्ठभूमि पनि कराते रहेकाले कराते खेलको विकासका लागि आफ्नोतर्फबाट पूरा सहयोग रहने बताए ।

नेपाल कराते महासंघका कार्यवहाक अध्यक्ष दावा गुरुङले राष्ट्रिय प्रतियोगितालाई एसियाली खेलकुदको प्रारम्भीक छनोटको आधार प्रतियोगितालाई बनाइने बताएका छन् ।

सम्झना ल्याबका कार्यकारी प्रमुख उर्दीप जोशीले आफूहरू करातेको विकासका लागि सहयोग गर्न सधैं तयार रहने बताए ।

स्पोर्टस् ब्रान्ड लिनिङका कार्यकारी प्रमुख राजन महर्जनले कोभिड कारण खेलाडीहरू मर्कामा परेको उल्लेख गरेका छन् ।

जिल्ला प्रमुख डोजो ललिपतुर लगनखेलका अध्यक्ष समेत रहेका आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठले प्रतियोगिताबाट खेलाडीहरूको अहिलेको अवस्थाका बारेमा जानकारी लिन सकिने बताए ।

संयोजक रवि महर्जनले प्रतियोगिताको सह–संयोजकको जिम्मेवारीको पत्र विनोद महर्जनलाई हस्तान्तरण गरेका छन् ।

Published : Saturday, 2022 February 12, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया