राखेपको मूलगेटमा प्रशिक्षक, खेलाडी र कर्मचारीहरूद्वारा प्रदर्शन

काठमाडौं । प्रशिक्षक, खेलाडी र कर्मचारीहरूले विभिन्न माग राखेर राष्ट्रिय खेलकुद परिषद (राखेप)को मूलगेट अगाडि प्रदर्शन गरेका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन संघले संयुक्त रुपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिरोध र्‍याली आयोजना गरेको हो ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, ओलम्पिनहरूले राखेप प्राङ्गणबाट ¥याली निकाल्दै दशरथ रङ्गशालाको मूलगेट अगाडिसम्म बिरोध प्रदर्शन गरेका हुन् ।

परिषदमा लामो समयदेखि सदस्य सचिवको विवादका कारण सर्वोच्चमा मुद्धा बिचाराधीन रहेको छ । खेलकुदका सम्पूर्ण गतिबिधी ठप्प भएका छन् ।

कर्मचारीहरूले दुई महिनादेखि तलब पाएका छैनन् । खेलकुद गतिविधी ठप्प भएको छ ।

नीतिगत निर्णय गर्नुपर्ने कार्यहरू हुन सकेका छैनन् । त्यसैलाई सम्वोधन गर्दै खेलकुदका तीन वटा संस्थाले सम्वन्धित निकायलाई ध्यानाकर्षणसहित छिटोभन्दा छिटो समस्याको समाधान खोज्न माग गरेका छन् ।

खेलकुद ऐनमा राखेपमा सदस्य सचिव नहुँदा अथवा भ्याकुमको अवस्था रहेमा नयाँ बैकल्पिक बाटो अपनाउन सक्ने ब्यवस्था गरेको छ ।

परिषदका सदस्य सचिवको पद रिक्त रहेको छ । परिषदका सदस्य सचिव रमेश सिलवाललाई हटाएपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

लामो समयसम्म पनि युवा तथा खेलकुद मन्त्रालय मुकदर्शक बन्दै खेलकुदलाई अनिर्णयको बन्दी बनाइरहेको आरोप कर्मचारी संघका अध्यक्ष थापाले लगाएका छन् ।

Published : Thursday, 2022 February 3, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया