प्रहरीलाई राम्री युवती मिलाइदिएर भागेका अपराधी ईन्टरपोलमार्फत पक्राउ

घोराही । प्रहरीलाई युवती मिलाइदिएर भागेका कैदी बन्दी यमराज परियारलाई ईन्टरपोलको सहायतामा जिल्ला प्रहरी कार्यालय दाङले पुनः पक्राउ गरेको छ ।

परियारलाई ईन्टरपोलमार्फत भारतीय प्रहरीसँगको सहकार्यमा जमुनाहा नाकाबाट सोमबार पक्राउ गरेर ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय प्रहरीसँगको सहकार्यमा नेपाल प्रहरीले भारतको राजधानी नयाँदिल्लीमा परियारलाई आइतबार पक्राउ गरिएको थियो ।

परियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा ‘छानबिन तथा खोजतलास समिति’ गठन गरिएको थियो । समितिले ‘अप्रेशन याङ्की’ बनाएर परियारलाई पक्राउ गरेको हो ।

‘माघ १० गते नेपाल–भारतको सीमा क्षेत्र नेपालतर्फको जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका–१५ जमुनाह नाकास्थितमा फरार कैदी यमराज परियारलाई फेला पारी पक्राउ गरी ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको छ’, दाङ प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्तब्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय भई २०७२ भदौ १६ गतेदेखि सजाय भुक्तान गरिरहेका थिए । ७ वर्ष कैद भुक्तान गरिसकेका परियार २०७८ पुस ८ गते फरार भएका थिए । कारागारमा पहिला चौकीदार र पछि नाइके भई कामकाज गर्दै आएका परियारले छालासम्बन्धी रोगको उपचार गर्न जाने बहानामा भागेका थिए ।

दाङको राजपुर गाउँपालिका– ३ स्थायी घर भएका २९ वर्षीय परियारले आफ्नी गर्भवती प्रेमिकाको हत्या अभियोगमा सजाए पाएका थिए ।

पुस ८ गते बिहान ११ बजेको समयमा छालासम्बन्धि बिरामी भई उपचारको लागि जाने क्रममा घोराही बजारको वीपी चोकस्थित रहेको थकाली भान्सा घर एण्ड लजमा गई खाजा खाने क्रममा परियार भागेका थिए ।

उपचारको लागि अस्पताल ल्याउन÷ लैजान भनी खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईकल लिई परियार फरार भएका थिए । परियारले खाजा घरमा प्रहरी जवान चौधरीलाई युवती मिलाइदिएका थिए । चौधरी युवतीसँग कोठाभित्र रमाइलो गरिरहेका बेला परियारले बाहिरबाट कोठाको चुकुल लगाइदिएर मोटरसाइकल लिएर फरार भएका थिए ।

कानूनी प्रावधान

कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको ब्यवस्था रहेको छ ।

Published : Monday, 2022 January 24, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया