सिआईबीद्वारा बिहारका नक्कली डाक्टरहरूलाई काठमाडौंमा रङ्गेहात पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले एमडी/एमएसको प्रवेश परीक्षाका तीन जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

शनिबार काठमाडौंबाट सीआईबीको टोलीले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी/एमएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने ३ जनालाई पक्राउ गरिएको सीआईबीका निर्देशक (डीआईजी) धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

चिकित्सकहरूलाई एमडी/एमएस गर्नका लागि आयोगबाट लिइने परीक्षा उत्तीर्ण गरेपछि अध्ययन गर्न पाइन्छ ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, भारतको बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशिभूषण सिंह र भारतको बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेको डीआईजी सिंहले बताएका छन् ।

नक्कली परीक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परीक्षर्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका–८ एलआरआई स्कुल कलंकीबाट र परीक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभ¥याङबाट पक्राउ गरेको डीआईजी सिंहले जानकारी दिएका छन् ।

उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2022 January 23, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया