देउवाद्वारा दाहाल–नेपालसँग परामर्श, ओलीको सपना पूरा नहुने

काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग परामर्श गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा, दाहाल र नेपालबीच निर्वाचनका विषयमा परामर्श भएको हो । स्थानीय तहको निर्वाचन अगाडि प्रतिनिधि सभाको निर्वाचन गर्ने विषयमा चर्चा भइरहेका बेला कसरी अगाडि बढ्ने भनेर परामर्श भएको छ ।

एमालेले ६ महिनादेखि संसद चल्न दिएको छैन । स्थानीय तहको निर्वाचन वैशाखभित्र गर्नुपर्ने बाध्यता छ । एमालेले संसद अबरोध गरेर सरकारका कामकारबाही प्रभावत बनाएको छ । सोही कारण सत्ता गठबन्धन दलका नेताहरूले स्थानीय तहको निर्वाचनभन्दा पहिला संसदको निर्वाचन गर्ने तयारीमा छन् ।

स्थानीय तहको निर्वाचनलाई लिएर दलहरूका बीच विवाद छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओली पनि प्रतिनिधि सभाको निर्वाचन छिटो गर्ने पक्षमा छन् । तर, उनले सत्तारुढ दलहरूलाई अफ्ठ्यारो बनाउँदै आएका छन् ।

देउवा, दाहाल र नेपालबीच सबै निर्वाचनहरू एकै पटक गर्ने कि कुन माध्यमबाट गर्ने भनेर परामर्श भएको बुझिएको छ ।
निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे गठबन्धनको बैठक बोलाइएको छ ।

Published : Thursday, 2022 January 20, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया