बुद्ध एयरको जहाजभित्रै आकाशमा बेहोस भइन् महिला यात्रु

काठमाडौं । बुद्ध एयरको जहाजमा एक जना महिला यात्रु बेहोस भएकी छिन् ।

बिहीबार बिहान करीव ७ बजेर ४५ मिनटमा काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज धेरैबेर आकाशमै होल्ड गर्नुपरेपछि ती महिला यात्रु बेहोस भएको जनाइएको छ ।

ती महिलालाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् । जहाजमा ६९ जना यात्रु थिए ।

उडान नं. ४५१ जहाज नेपालगञ्ज एयरपोर्ट नजिकै होल्ड गरिएको थियो ।

करीव एक घण्टाको होल्डपछि बिहान ८ बजेर ४४ मिनटमा जहाज अवतरण गर्न खोजेको थियो ।

बुद्धको सो जहाज बिहान करीव ९ बजेर २० मिनटमा सकुशल अवतरण भएको थियो ।

जहाज धेरै समय आकाशमा होल्ड भएपछि ती यात्रु अतालिएर बेहोस भएको जनाइएको छ ।

यसैबीच, मौसम प्रतिकुलताका कारण बिहीबार बिहानका तीनवटा आन्तरिकतर्फका उडान आकाशमै होल्ड भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयर, श्री एयर र यति एयरलाइन्सका जहाज करीव एक घण्टा आकाशमै होल्ड गर्नुपरेको छ ।

अवतरणको लागि मौसम प्रतिकुल भएपछि जहाज आकाशमै होल्ड गर्नु परेको प्राधिकरणका निमित्त कार्यकारी महानिर्देशक प्रेमनाथ ठाकुरले बताएका छन् ।

काठमाडौं, भैरहवा र नेपालगञ्ज बिमानस्थलमा मौसम प्रतिकुलताको असर देखिएको थियो । अझै पनि उडान सहज भैसकेको छैन ।

बिहानैदेखि हुस्सु र बाक्लो कुहिरो लागेका कारण अधिकांश उडानमा समस्या भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Published : Thursday, 2022 January 20, 1:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया