सुनसरीमा अराजक समूहले उत्पात मच्चायो

इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा महोत्सव गर्न नदिएको भन्दै अराजक समूहले तोडफोड र आगजनी गरेको छ ।

भोजपुरी कलाकार खेसरीलाल यादवले बर्जु महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो । कोरोना महामारीका बेला कोरोनाभाइरसको संक्रमण फैलिनेभन्दै स्थानीय प्रशासनले महोत्सव रोकिदिएको थियो ।

अराजक भिडले तेस्रो बर्जु महोत्सवका लागि बनाइएको स्टेज तोडफोड गरेर क्षति पु¥याइदिएका छन् । उनीहरूले चार वटा सवारी साधनमा आगजनी पनि गरेका छन् ।

पुस २३ गतेदेखि जारी महोत्सवको अन्तिम दिन मंगलबार भोजपुरी कलाकार खेसरीलाल यादवलाई ल्याउने तयारी थियो ।

मंगलबार १२ बजे यादव आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिकट बिक्री गरेको थियो ।

स्थानीय प्रशासनले आफ्नो निर्देशिन विपरित महोत्सव गरेको भन्दै कलाकार यादवलाई नआउन आग्रह गरेको थियो ।

स्थानीय प्रशासनले महोत्सव रोक्नका लागि यसअघि नै निर्देशन दिएको थियो । आयोजक बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले मेला रोक्न अटेर गरेको थियो ।

महोत्सवमा अत्याधिक भीड देखिएपछि स्थानीय प्रशासनले खेसरीलाललाई महोत्सवमा जान नदिई विराटनगरको होटल एसियाटिकमा रोकेर राखेको थियो ।

खेसरीलाल नपुगेपछि आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्करपिओमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

तोडफोड र आगजनीपछि बर्जु क्षेत्रको मंगलबार दिउँसो तनावग्रस्त बनेको बर्जु गाउँपालिका– ६ का वडाध्यक्ष विनोदकुमार चौधरीले बताएका छन् ।

Published : Tuesday, 2022 January 18, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया