श्रम मन्त्रीलाई हर्कत रोक्न संघको चेतावनी, भिसा सेन्टरमा आर्थिक चलखेल

काठमाडौं । नेपाल वैदेशिक रोजगा व्यवसायी संघले श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टरको उद्घाटन गरेकोमा आपत्ति जनाएको छ ।

बुधबार संघका महासचिव सुजितकुमार श्रेष्ठले प्रेस नोट जारी गरेर वैदेशिक रोजगारीमा कुनै पनि प्रकारको सिण्डिकेट अमान्य रहेको बताएका छन् ।

श्रममन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायसँग परामर्श नै नगरेर सुटुक्क यूएई भिसा सेन्टरको उद्घाटन गरेका छन् । भिसा सेन्टरको संघले जोडदार रुपमा विरोध गर्दै आन्दोलनको चेतावनी समेत दिएको छ ।

‘विभिन्न पत्रपत्रिकामा श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टर परराष्ट्र मन्त्रालयको जानकारीबिना उद्घाटन गरेको भन्ने समाचारप्रति नेपाल वैदेशिक रोजगार संघको गम्भीर ध्यानाकर्षण भएको छ’, महासचिव श्रेष्ठले भनेका छन् ।

‘नेपाली कामदारहरूमाथि अतिरिक्त आर्थिकभार पार्ने उदेश्यका साथ भिसा सेन्टर र मेडिकलको नाममा सिण्डिकेट कुनै हालत पनि स्वीकार्य नहुने र यसको विरुद्ध संघले सशक्त आन्दोलन गर्ने सबैमा जानकारी गराउँदछु’, श्रेष्ठले चेतावनी दिएका छन् ।

‘भिसा र मेडिकल सेन्टरको आधिकारिक्ता सम्बन्धमा बिहीबार नै सम्बन्धित मन्त्रालय (परराष्ट्र र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय) र यूएईको राजदूतावासमा पत्राचार गरिने समेत जानकारी गराउँदछु’, महासचिव श्रेष्ठले भनेका छन् ।

सीमित वैदेशिक रोजगार व्यवसायी र दलालहरूलाई पोस्ने गरेर श्रममन्त्री श्रेष्ठले भिसा सेन्टरको उद्घाटन गरेपछि विरोध भएको छ ।

भिसा सेन्टर उद्घाटन गरेर सञ्चालनमा ल्याउनका लागि गिरोहले ठूलो रकम मन्त्री श्रेष्ठलाई बुझाएको आरोप पनि लागेको छ ।

Published : Wednesday, 2022 January 5, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया