धुर्मुस–सुन्तलीको ‘ठगी धन्दा’ले मान्छेहरू चकित, सम्पत्ति जफत गर्न माग

काठमाडौं । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’भित्र पलाएको महत्वकांक्षाले हजारौँ सर्वसाधारणले दिएको करोडौँ रुपियाँ बराबरको चन्दाको रकम डुबेको छ ।

कलाकार भएर कलाको पूजा गर्नुपर्ने ‘धुर्मुस–सुन्तली’ले समाज सेवाका नाममा ठगी धन्दा चलाएका छन् । उनीहरूको ठगी धन्दाको छानविन गरेर कारबाही गर्नुपर्छ ।

उनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा करोडौँ रकम चन्दा उठाएका छन् । चन्दाको ठगी धन्दापछि रंगशालाको स्वामित्व लिनुपर्ने भन्दै धुर्मुस–सुन्तलीले भरतपुर महानगरपालिकासँग आग्रह गरेपछि हजारौँ सर्वसाधारणसँग उठाएको रकम फिर्ता गर्न पनि माग उठेको छ ।

व्यक्तिगत चाहना पूरा गर्न उनीहरूले उठाएको चन्दाको हिसाव किताव सार्वजनिक गर्नुपर्छ । उनीहरूले रंगशालाका नाममा उठाएको रकम र खर्च विवरणको अडिट गरेर अडिट रिपोर्ट सार्वजनिक गर्नुपर्छ । रकम हिनामिना भएको रहेछ भने ‘धुर्मुस–सुन्तली’लाई पाता कसेर कानूनअनुसार दण्ड सजाय दिनुपर्छ ।

‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले अरु कति पैसा संकलन गरेको छ सबै जानकारी दिनुपर्छ ।

ठूलो रंगशाला बनाउने मोहमा धुर्मुस–सुन्तलीले फाउन्डेसनलाई अगाडि ल्याएर चन्दा संकलन गर्न थाले । उनीहरूले चन्दा संकलन कति गरे खोल्नुपर्छ । फेसबुकमा लेखेको भरमा ‘धुर्मुस–सुन्तली’लाई उन्मुक्ति दिनु हुँदैन ।

भरतपुरको रामपुरमा रहेको कृषि विश्वविद्यालयको जमिनमाथि ‘धुर्मुस–सुन्तली’ले ठूलो खेलवाड गरेका छन् ।

भरतपुरकी मेयर रेणु दाहालले विश्वविद्यालयको जमिन हडप्न पाउँदा निकै गर्वका अभिव्यक्तिसमेत दिएकी थिइन् । मेयर दाहालले रंगशालाका नाममा चितवनमा मच्चाएको आतंकको हिसाव–किताव दिनुपर्छ ।

अब अहिले विश्वविद्यालयको जग्गामा बनिरहेको क्रिकेट स्टेडियमको काम कति सकियो ? कसरी कति बनाइयो ? कस्ता सामान प्रयोग गरिएको छ ? गुणस्तर के छ ? भन्ने विषयमा कसैलाई थाहा छैन ।

३ अर्ब ५४ करोड रंगशालाको अनुमानित लागत हो । अहिलेसम्म ५४ करोड नगद र १६ करोड ऋणमा ३५ प्रतिशत काम सकिएको दाबी कट्टेलको छ ।

यसको आर्थिक आयव्ययको लेखा परीक्षण, निर्माण पूर्वाधारको अवस्थाबारे आम मानिसलाई जानकारी दिनुपर्छ ।

मिडियाबाजीको भरमा, चन्दा उठाएर धुर्मुस सुन्तलीले जे गर्न खोजे, जे भ्रम गर्न खोजे गम्भीर प्रश्न उठाएको छ ।

रंगशाला बनाउने भनेर चन्दा उठाएर काम बन्द गरेर भाग्न लागेका धुर्मुस–सुन्तलीको सम्पत्तिको छानबिन पनि हुनुपर्छ ।

चन्दा उठाएर समाजसेवा गरेको भरमा जसले जे गर्दा पनि छुट दिनु हुँदैन ।

सामाजिक सञ्जालमा धुर्मुस–सुन्तलीलाई कारबाहीको माग उठेका छन् । विभिन्न अनलाइनहरूमा कारबाहीको माग गरेर आर्टिकलहरू पनि आइरहेका छन् । उनीहरूको सम्पत्तिमाथि छानविन गर्न पनि माग उठेका छन् ।

सीताराम कट्टेल अथात ‘धुर्मुस’ एमाले समर्थक हुन् । कुञ्जना घिमिरे अर्थात ‘सुन्तली’ माओवादी समर्थक हुन् । सुन्तलीकी आमा स्थानीय तहको निर्वाचनमा गोदावर नगरपालिकामा माओवादीबाट उप–मेयरको उम्मेदवार बनेर पराजित भएकी थिइन् । धुर्मुस–सुन्तलीहरू कम्युनिस्टलाई फाइदा हुने गरेर काम गर्दै आएका छन् । उनीहरू कम्युनिस्टका कार्यक्रममा बेलाबेला देखिने गरेका छन् ।

Published : Sunday, 2021 December 26, 10:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया