दाङ कारागारबाट भागेका यमराज परियारको यस्तो छ प्रेमिका ‘मारे’को अपराध

घोराही । जिल्ला कारागार दाङबाट कैदी बन्दी यमराज परियारलाई भगाएको अभियोगमा प्रहरी जवान धनबहादुर चौधरी पक्राउ परेका छन् ।

बिहीबार उपचारको बहानामा अस्पताल लगेपछि परियारलाई प्रहरी जवान चौधरीको मोटरसाइकलमा भगाइएको आशंका दाङ प्रहरीले गरेको छ । प्रहरीबाटै अपराधीलाई भगाउने कार्य गरेको भन्दै दाङ प्रहरीले कडा एक्सन लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले वर्ष २८ को कैदी बन्दी यमराज परियारलाई भगाएको अभियोगमा प्रहरी जवान धनबहादुर चौधरीलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनले परियारलाई भगाउन भूमिका खेलेका र सहयोग गर्ने दुई जनालाई पक्राउ गरेको भन्दै बाँकी व्यक्तिहरूलाई पनि पक्राउ गरिने बताए ।

एसपी काफ्लेले भने, ‘भगाउने मतियारहरूलाई पक्राउ गरेका छौँ । बाँकी अरु दुई जना पनि पक्राउ पर्छन् । भागेका कैदी बन्दी यमराज परियार पनि पक्राउ पर्छन् ।’

दाङको देउखुरी उपत्यका गढवा गाउँपालिका– ७ स्थायी घर भएका परियारले आफ्नी प्रेमिकाको हत्या अभियोगमा सजाय पाएका थिए ।

प्रेमिका गर्भवती भएपछि आक्रोशित बनेका परियारले हत्या गरेको पुष्टि भएपछि अदालतले सजाय तोकेको थियो ।

Published : Friday, 2021 December 24, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया