वरिष्ठ गायिका शाह ५१ हजार नगदसहित पुरस्कृत

काठमाडौं । वरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गायिका शाहलाई नगद रु. ५१ हजारसहित सम्मान गरिएको हो । उनलाई वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले सो सम्मान प्रदान गरेका हुन् ।

संगीतकार एवम् गायक कन्हैया सिंह परियारले आफ्नो ५०औं जन्मदिनका अवसर पारेर गायिका शाहलाई सम्मान गरेको जनाएका छन् ।

संगीतकर्मीलाई सम्मान गर्न गायक परियारले ‘कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’ स्थापना गरेका हुन् ।

संगीतकार बास्कोटाले नेपाली लोक संगीत सृजना र भाका संकलनमा गायिका चन्द्रकला शाहको अतुलनीय योगदान रहेको बताएका छन् ।

संगीतकार बास्कोटाले रेडियो नेपालले बिनाकारण जागिर खोसेर बेरोजगार बनाएका बेला गायक सिंहले आफ्नो नाममा स्थापित पुरस्कारबाट पुरस्कृत गर्नु प्रशंसनीय कार्य भएको बताएका छन् ।

गायक एवम् संगीतकार डा.भीमार्जुन आचार्यले गायिका चन्द्रकला शाहले लोक गीतको क्षेत्रमा पु¥याएको योगदानलाई कहिल्यै भुल्न नसकिने बताए । ‘चन्द्रकला दिदीका गीत सुनेर मैले धेरै गीत संगीतमा धेरै प्रेरणा लिएको छु’, उनले भने, ‘आफ्नै जिल्लाबासी दिदीका गीतहरू रेडियो नेपालमा सुन्न पाउँदा निकै खुसी लाग्थ्यो ।’

वरिष्ठ अधिवक्ता र संविधानविद् समेत रहेका डा.आचार्यले निजी क्षेत्रबाट गायक परियारले स्थापना गरेको ठूलो राशिको पुरस्कार कुनाकाप्चामा लुकेरबसेका संगीतकर्मीलाई आगामी दिनमा सम्मान गर्न सुझाव दिएका छन् ।

वरिष्ठ गायिका शाहले सरकारले दिएको पुरस्कारभन्दा निजी क्षेत्रबाट प्राप्त भएको सम्मान र पुरस्कार आफ्ना लागि ठूलो भएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘सरकारी पुरस्कार र सम्मानभन्दा निजी क्षेत्रबाट प्राप्त सम्मान मेरा लागि अत्यन्तै ठूलो छ ।’

गायक परियारले वरिष्ठ गायिका चन्द्रकला शाहकै गीत सुनेर आफ्नो बाल्यकाल बितेको बताए । उनले भने, ‘चन्द्रकला दिदीका गीतहरू सुनेर हुर्किएको हुँ । उहाँका गीत पनि धेरै गाएको छु । चन्द्रकला दिदी लोक गीतको क्षेत्रमा निकै सम्मानित हुनुहुन्छ ।’

संगीतकार सन्तोष श्रेष्ठले चन्द्रकला दिदीका गीतबाट आफूले धेरै कुरा सिकेको बताए । उनले दिदीले लोक गीतमा गर्नुभएको योगदानलाई सरकारले विशेष रुपमा स्मरण गर्नुपर्ने बताए ।

कार्यक्रममा गायक एवम् संगीतकार ज्योतिप्रकाश, गीतकार माधवराज खरेललगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2021 November 17, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया