तरुण विभागद्वारा देशको शान राखेका फुटबल खेलाडीहरूलाई नगदसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियन फुटबल प्रतियोगिताको उप–विजेता नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई सम्मान गरेको छ ।

नेपाल तरुण दलको ६८औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा विभागले सम्मान कार्यक्रम आयोजना गरेको हो ।

खेलाडीहरूलाई गृहमन्त्री बालकृष्ण खाणले नगद १०–१० हजार र अफिसियल टिमका लागि ५–५ हजार नगदसहितको पुरस्कार प्रदान गरेका छन् ।

गृहमन्त्री खाणले सरकारको तर्फबाट खेलाडीहरूलाई उच्च सम्मान रहेको बताए । ‘खेलाडीहरू राष्ट्रका गहना हुन् । उनीहरूप्रति हाम्रो उच्च सम्मान छ’, खाणले भनेका छन् ।

साफ च्याम्पियनमा नेपाली फुटवल टिमले गरेको प्रदर्शन निकै उत्कृष्ट रहेको गृहमन्त्री खाणले बताएका छन् ।

उनले तरुण युवाहरू मुलुकको सिपाही भएको हुँदा मुलक र संविधानको रक्षाका लागि सधै प्रतिवद्ध भएर लाग्नुपर्नेमा बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले नेपालको सान र मान राख्ने हिसाबले नेपाली खेलाडीहरूले खेल प्रदर्शन गरेको बताए ।

भण्डारीले देशको सान र मान राख्ने हिसाबले खेल प्रदर्शन गर्ने खेलाडीहरूको राज्यले उच्च सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् ।

खेलाडीहरूको मनोवल उच्च बनाउने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने नेता भण्डारीले बताएका छन् ।

खेलाडीहरूको योगदानलाई कांग्रेस र तरुण विभागले सँधै उच्च सम्मान गर्ने उनले बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फ)का अध्यक्ष कर्माछिरिङ शेर्पाले २८ वर्षपछि नेपाली फुटबल टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताएका छन् ।

खेलाडीहरूलाई सम्मान गर्ने क्रम शुरु भएकोमा अत्यन्त खुशी लागेको अध्यक्ष शेर्पाले बताएका छन् ।

कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले खेलाडीको नाममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरूलाई शोषण गरेको बताए ।

उनले सिलवाललाई सदस्य सचिव पदबाट सरकारले तत्काल बर्खास्थ गर्न माग पनि गरेका छन् ।

Published : Wednesday, 2021 October 27, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया