भुवनपछि करिश्मा–जितु एमाले प्रवेशको तयारीमा

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग अभिनेत्री करिश्मा मानन्धर र अभिनेता जितबहादुर नेपाल ‘जितु’ले भेटवार्ता गरेका छन् ।

बुधबार भक्तपुरको बालकोटस्थित ओलीकै निवासमा पुगेर मानन्धर र नेपालले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका चाँजोपाँजो एमालेबाट राष्ट्रय सभामा प्रतिनिधित्व गर्ने सांसद कोमल ओलीले मिलाएकी हुन् ।

बाबुराम भट्टराईको पार्टी छाडेपछि राजनीतिबाट निष्क्रिय बसेकी अभिनेत्री मानन्धरले आफूलाई एमालेतिर झुकाएकी छिन् ।

मानन्धरले आफू एमालेमा प्रवेश औपचारिक घोषणा नगरे पनि एमालेका अध्यक्ष ओलीसँग भेट गर्ने क्रममा सांसद कोमल ओली र हास्य अभिनेता नेपाललाई साँक्षी राखेर भेटवार्ता गरेकी छिन् ।

हास्य अभिनेता नेपालले पनि आफूलाई एमालेतिर झुकाब रहेको संकेत गरेका छन् । विगतमा कुनै पनि राजनीतिक दलसँग नखुलेका नेपालले बुधबार अभिनेत्री मानन्धर र सांसद कोमल ओलीसँगै निवासमा ओलीलाई भेट गरेर एमालेतिर आफ्नो झुकाव रहेको सन्देश दिएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका विभिन्न दलका नेताहरूलाई भेट गरेको तस्बिर अभिनेत्री मानन्धर र अभिनेता नेपालले सामाजिक सञ्जालमा राख्दैनन् । उनीहरूले ओलीसँग भेट गरेको तस्बिर हतार हतारमा सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

विगतमा अभिनेता भुवन केसी पनि एमालेमा प्रवेश गरिसकेका छन् । केसीलाई तत्कालीन महासचिव माधवकुमार नेपालले एमाले बनाएका हुन् । केसीले एमाले छाडेको घोषणा गरेका छैनन् । एमालेको राजनीतिबाट अभिनेता केसी निष्क्रिय छन् ।

Published : Thursday, 2021 October 21, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया