परिषदमा कोइरालाको कीर्ते काण्ड, सिलवाल निरिह, तेक्वान्दोमा धावा बोल्दा भूमिगत गिरोह नाङ्गियो

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदमा मनपरितन्त्र र वेथितिले पराकाष्टा नाघेको छ । प्रशिक्षक र खेलाडीहरू परिषदको नेतृत्वसँग आजित बनेका छन् ।

परिषदका पदाधिकारीहरूको देशको कानून र नियमलाई धोती लगाइदिएका छन् । देशका युवा वर्गहरूलाई स्वस्थ र अनुशासनको पाठ सिकाउने संस्थाको रुपमा विकास भएको परिषदमा निहीत स्वार्थ हाबी भएपछि खेलाडीहरूको मनमा चिसो पसेको छ ।

परिषदका सदस्यहरूको त के कुरा सदस्य सचिवदेखि उपाध्यक्षसम्म आफूखुशी मनपरितन्त्र नै चलाएर गरेर बसेका छन् ।

तेक्वान्दो संघको महाधिवेशनलाई लिएर सदस्य सचिव रमेश सिलवालले आफ्नो अधिकारभन्दा बाहिर गएर संघको निर्वाचनलाई नै बिथोल्ने प्रयास गरेका थिए । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्टीकरणको डण्डा चलाएपछि सदस्य सचिव सिलवाल थन्किएका छन् ।

सिलवालभन्दा उपाध्यक्ष शिव कोइराला झन् के कम ?! उनले आफ्नो हैसियत र अधिकारभन्दा पनि माथि गएर विश्व तेक्वान्दो संघमा परिपत्र गरेर तेक्वान्दो संघको महाधिवेशन रोक्ने प्रयास गरेका थिए । दर्ता चलानी नै नरहेको पत्रमा कोइरालाले कीर्ते गरेको खुलेपछि परिषदभित्र खैलाबैला भएको छ ।

उपाध्यक्ष कोइरालाले ३० सेप्टेम्बरमा परिषदको लेटर प्याड प्रयोग गरि सोँझै विश्व तेक्वान्दो महासंघलाई परिपत्र गरेर तेक्वान्दो संघको अधिवेशन बिथोल्न खोजेका थिए । कोइरालाको योजना पूरा हुन सकेन । यी घटनाले परिषद कसरी चलेको छ भन्ने कुरा प्रष्ट भएको छ ।

कोइरालाले आफ्नो पदीय जिम्मेवारी र हैसियत भुल्दा सिङ्गो मुलुकको अन्तर्राष्ट्रियस्तरमा बदनाम भएको छ । उपाध्यक्ष कोइरालालाई कुनै पनि कार्यकारिणी अधिकार छैन ।

परिषदका प्रवक्ता कुलबहादुर थापाले उपाध्यक्षले अन्तर्राष्ट्रिय तेक्वान्दो संघलाई दर्ता चलानी नै नगरेर परिषदको लेटरप्याडमा पत्र पठाएको हो भने गम्भीर विषय भएको प्रतिक्रिया दिएका छन् ।

‘अध्यक्ष वा सदस्य सचिवले जिम्मेवारी दिनुभएको छ भने अर्को कुरा हो । उपाध्यक्षलाई दर्ता चलानी नै नभएको पत्र पठाउने अधिकार छैन’, थापाले भने, ‘यो विषय मलाई पनि धेरै थाहा छैन । म बुझ्नेछु । गम्भीर कुरा आएको छ ।’

अध्यक्षले दिएको अधिकार प्रयोग गरेर उपाध्यक्षले काम गर्न सक्छ । उपाध्यक्ष कोइरालाले अख्तियारी दुरुपयोग गरेर परिषदको लेटरप्याडमा आफ्नो देशको खेलकुदलाई बदनाम गराउने उद्देश्यले अन्तर्राष्ट्रिय संस्थालाई पत्राचार गर्नु देश र खेलाडीहरूकै बेइज्जत गर्ने दुश्साहस गरेको आरोप प्रशिक्षक र खेलाडीहरूको छ ।

उपाध्यक्ष कोइरालाले लेटरप्याडमा कीर्ते गर्दा पनि सदस्य सचिव निरिह बनेर बसेका छन् । कारबाहीको कदम चाल्न सकेका छैनन् । सरकारी लेटरप्याड प्रयोग गर्दा दर्ता र चलानी अनिर्वाय छ ।

खेलकुद ऐन २०४७ ले एउटा खेलको एकमात्रै संघलाई मान्यता दिने व्यवस्था गरेको छ । राजनीतिको आडमा तत्कालीन सदस्य सचिव युवराज लामालाई दवाव दिएर कोइरालाले आफ्नै नेतृत्वमा अवैधानिकरुपमा माओवादी समर्थक राष्ट्रिय तेक्वान्दो युनियन गठन गरेका थिए ।

तत्कालीन सदस्य सचिव लामाले विभिन्न सभा सम्मेलन र सञ्चारमाध्यमहरूमा माओवादीको दवावमा युनियन दर्ता गरेको बताउँदै आएका छन् ।

कोइराला नेपाल तेक्वान्दो संघलाई कसरी हुन्छ दवाव दिएर संघभित्र आफू पस्न खोजेका छन् । कोइराला संघमा निकै कमजोर छन् । तेक्वान्दो संघको नयाँ कार्यसमितिले कोइरालाको युनियनलाई स्थान दिन वार्ता र सम्वाद प्रयास गरेको छ । तर, कोइरालाले विभिनन बखेडा झिकेर उत्पात गर्ने गरेको आरोप छ ।

साग खेल र अन्य अन्तर्राष्ट्रिय पदक जितेर नेपाल र नेपालीको शिर उँचो बनाएको तेक्वान्दो खेललाई तहसनहस बनाउन भूमिगत गिरोह लागिपरेका छन् ।

काम नहुँदा पनि उपाध्यक्ष कोइरालाले परिषदमा कर्मचारी सरह दिनभरि अड्डा जमाएर बस्ने गरेका छन् ।

अधिकार नै नभएको अधिकार प्रयोग गर्ने उपाध्यक्ष कोइरालालाई कारबाही गर्न माग उठेको छ । कोइरालालाई लागेका आरोपका विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Friday, 2021 October 8, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया