सानेपामा ससुरा–ज्वाइँहरूको रमिता

सुरेश पौडेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आगामी भदौ १८ गतेदेखि वडा तहको निर्वाचन सम्पन्न हुँदैछ । क्रियाशील सदस्यतासम्बन्धि विवादको अन्तिम टुंगो लागिसकेको छ । निर्वाचन समिति समेत महाधिवेशनका लागि तयारी अबस्थामा रहेको छ । पटक–पटक तालिका हेरफेर हुँदै आए पनि अब भने १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने सुनिश्चितता बढेको छ ।

महाधिवेशनको माहौल बन्दैगर्दा फेरी आफ्नो निजी स्वर्थ केन्द्रित प्रवृत्तिहरू देखिन थालेका छन् । यस पटक शीर्ष नेताहरूको सहमतिमा क्रियाशील सदस्यता विवाद समाधान भएको हो, जुन यसअघि हुने गरेको थिएन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सहमतिकै आधारमा क्रियाशील सदस्यताको विवाद टुंगाएर पार्टीभित्र सबैलाई न्याय दिएको सन्देश दिएका छन् ।

शीर्ष नेताले प्रतिवेदन ग्रहण गरेको २४ घण्टा पनि नवित्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार अनौठो प्रहसन देखिएको छ । क्रियाशील विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेसका जिल्ला सभापतिहरूको धर्नाका नाममा एउटा तप्काले फेरि उत्पात मच्चाउन थालेको छ । महाधिवेशनलाई विथोल्ने हर्कतहरू गर्न थालेको छ ।

धर्ना कसको स्वार्थमा किन गरियो ? भन्ने पनि प्रष्ट जगजाहेरै छ । विरोधको भजनमा सदावहार रमाउने र रमिता देखाउने अनुहारबाटै दृष्य प्रहसन भैरहेको छ । भाई जगदीश्वर नरसिंह केसीले धर्नाको तारतम्य मिलाउने, दाइ अर्जुननरसिंह केसी र ज्वाइँ गगन थापाले मन, वचन र कर्मले सहयोग गर्ने । त्यसपछि दुई चारजना क्यामरा र मिडियापर्सन डाकेर धर्नाको अघि उभिँदै ‘क्रियाशील सदस्यता विवरण सार्वजनिक गर १’ भन्दै भट्याउने । ससुराली र ज्वाइँ चेला बटुलेर गरिएको गाइजात्राको मौसमसँग मिल्दोजुल्दो प्रहसनले दर्शकलाई क्षणिक रमाइलो त गराउला, तर कांग्रेसका लागि फुटेको कौडी बराबर योगदान दिँदैन । कांग्रेस विधानको व्यवस्था गम्दा पार्टी मुख्यालयको यो दृष्यले जग हँसाउने काम गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाएपछि सभापतिलाई हस्तान्त्रण गर्ने र सभापतिले केन्द्रीय निर्वाचन समितिलाई हस्तान्त्रण गर्ने विधानमा व्यवस्था छ । यो केन्द्रीय समितिले अहिलेनै सार्वजनिक गर्ने विषय होइन । केन्द्रीय समितिले निर्वाचन समितिलाई हस्तान्त्रण गरेपछि निर्वाचन समितिले जिल्ला–जिल्लामा क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्ने हो । तर, पारिवारिक कांग्रेसको एउटा परिवार र त्यसमा केही स्वार्थीहरू भेला भएर क्रियाशील सदस्या सार्वजनिक गर भन्नु पार्टी विधान विपरितको काम हो । विधान विपरितको माग तेसाएर मिडियावाजी गर्न तत्काल बन्द गर्नु पर्छ ।

सात दशक लामो लोकतन्त्र र कानूनी राजका लागि लडेको कांग्रेस पार्टी विधि, विधान र पद्धति मार्फत चल्ने हो, व्यक्तिको दादागिरी काम लाग्दैन । कांग्रेसको नेता हुँ भन्ने जो कोही मनुवालाई विधानको व्यवस्था ज्ञात भएकै हुनुपर्छ । कांग्रेस विधानको उपधारा ८ मा क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरण सम्बन्धी उजुरी, छानविन र पुनरावेदनलगायत विषय दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ ।

नयाँ क्रियाशील सदस्यता आवेदन फारम लिन अस्वीकार गरेको वा सदस्यता नदिने गरी निर्णय गरेको वा तोकिएको अवधिभित्र सदस्यता दिने निर्णय नगरेको वा क्रियाशील सदस्यता पाउनुपर्ने व्यक्तिले नपाएको वा नपाउनुपर्ने व्यक्तिले पाएकोमा चित्त नबुझेमा सम्बन्धित आवेदक वा अन्य कुनै व्यक्ति वा निकायले उपधारा ८ (ग) बमोजिम गठित जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी दिन सक्ने व्यवस्था विधानले गरेको छ ।

क्रियाशील सदस्यता नवीकरणका लागि आवेदन फारम लिन अस्वीकार गरेको वा नवीकरण नगर्ने निर्णय गरेको वा तोकिएको अवधिभित्र नवीकरण नगरिदिएको वा नवीकरण हुनु पर्ने व्यक्तिको नवीकरण नगरिदिएको र नवीकरण नहुनु पर्ने व्यक्तिको नवीकरण गरिदिएकोमा चित्त नबुझेमा सम्बन्धित आवेदक वा अन्य कुनै व्यक्ति वा निकायले उपधारा ८ (घ) बमोजिम गठीत प्रदेश स्तरीय क्रियाशील सदस्यता छानविन पुनरावेदन समितिमा उजुरी दिन सक्ने भनिएको छ ।

क्रियाशील सदस्यता सम्बन्धमा उजुरी हेर्न जिल्लास्तरमा जिल्ला कार्यसमितिको सभापतिको संयोजकत्वमा कार्यसमितिका दुई जना सचिव सदस्य रहेको क्रियाशील सदस्यता प्रारम्भीक छानविन समिति रहने व्यवस्था विधानले गरेको छ । समितिले उजुरी हेरी बढीमा पन्ध्र दिनभित्र निर्णय गरी मातहत निकायलाई निर्देशन र सम्बन्धित व्यक्तिलाई जानकारी गराउने भन्ने छ ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेको व्यक्ति वा पार्टी निकायले जानकारी पाएको पन्ध्र दिनभित्र क्रियाशील सदस्यता छानविन पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्छन् ।

प्रदेश तहमा प्रदेश कार्यसमितिको सभापतिको अध्यक्षतामा प्रदेश कार्यसमितिका दुई जना प्रदेश महामन्त्री सदस्य रहेको क्रियाशील सदस्यता छानविन पुनरावेदन समिति गठन हुने भनिएको छ । विधानतः उक्त समितिले प्राप्त पुनरावेदनमा बढीमा एक महिनाभित्र निर्णय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन र सम्बन्धित व्यक्तिलाई जानकारी गराउने व्यवस्था छ ।

केन्द्रीय तहमा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रीय कार्यसमितिका दुई जना महामन्त्री सदस्य रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति गठन हुनेछ । क्रियाशील सदस्यता छानविन पुनरावेदन समितिले गरेको निर्णयमा चित्त नबुझेको कुनै व्यक्ति वा पार्टी निकायले यस समितिमा पुनरावेदन दिन सक्ने व्यवस्था छ । यो समितिले गरेको निर्णय अन्तिम हुने विधानमा किटानी छ ।

Published : Tuesday, 2021 August 24, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया