उत्पात काण्ड गरेका दुर्गेशलाई दशा लाग्यो, ग्वाँ–ग्वाँ रुने अवस्थामा पुगे, देशभरि बहिस्कार

काठमाडौं । नेपाली लोक संस्कृतिलाई बङ्ग्याएर छाडा गीतहरू बनाउँदै आएका कथित गायक दुर्गेश थालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले बहिस्कार गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा बसेको प्रतिष्ठानको ‘विकृति विसंगती न्यूनिकरण विभाग समिति’ले गायक थापालाई बहिस्कार गर्ने निर्णय गरेको समितिका संयोजक एवम् उप–महासचिव शिव हमालले जानकारी दिए ।

‘दुर्गेश थापाज्यूलाई पटक–पटक हामीले सम्झाउने र सचेत गराउने काम गरेका थियौँ । उहाँमा सुधार भएन’, हमालले भने, ‘नेपाली गीत संगीतलाई विगारेर महिला दिदीबहिनी र समाजकै बद्नाम गर्न उत्रिएपछि बाध्य भएर बहिस्कार गर्ने निर्णय गरेका छौँ ।’

समितिका संयोजक हमालले गीत संगीतलाई जर्गेना गर्ने र समाजलाई सहि बाटोमा लैजाने काम कलाकारहरूको दायित्व रहेको बताए । उनले यस्ता छाडा गीत गाउनेलाई दर्शक स्रोतले स्वयंले पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

गायक थापालाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको जानकारी उनले दिएका छन् ।

गायक थापाले आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीत आउनेवित्तिकै थापाको आलोचना भएको थियो ।

थापाले गीत रिलिज गर्नु अगाडि नै प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनारहेको भन्दै सच्याउन सुझाव दिएको थियो । थापाले अटेर गरेर ‘ख्यास्स पुतली’ हटाएनन् । उनले युट्युबमा जस्तोका त्यस्तै राखेका थिए ।

थापाको गीतले तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गरेको ठहर गर्दै आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन प्रतिष्ठानले लिखित रुपमा आग्रह गरेको थियो ।

अटेरी गायक थापाले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै तीज गीत सार्वजनिक गरेका थिए । उनले प्रतिष्ठानलाई धम्की समेत दिएर प्रतिष्ठानसँग आफ्नो कुनै लेनदेन नरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्नेदेखि प्रतिष्ठानले सेवा सुविधाबाट बञ्चित गर्ने गरेको छ । गायक थापालाई प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने निर्णय पनि भएको छ ।

प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने तथा मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवम् आयोजकलाई आग्रह गर्ने निर्णय गरेको उप–महासचिव एवम् समितिका संयोजक हमालले बताएका छन् ।

युट्युबबाट पैसा कमाउनकै लागि गायक थापाले धेरै गीतहरू समाजमा बोल्न नसक्ने शब्दहरू राखेर सार्वजनिक गर्ने गरेका छन् ।

Published : Monday, 2021 August 2, 4:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया