उपेन्द्रले महन्थ–राजेन्द्रलाई तोरीको फूल देखाइदिए, ४८ घण्टाभित्र फत्ते गरे काम

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

अध्यक्ष यादवले पार्टीका सबै कागजपत्र र आयोगले माग गरेका लिखतहरू पठाएको स्रोतले जनाएको छ । यादवले जसपालाई आफ्नो हातबाट फुत्किन नदिन बलियो प्रमाण र दस्तावेजहरू आयोगमा बुझाएका हुन् । एक नेताका अनुसार अध्यक्ष यादवले आयोगमा बुझाएको दस्तावेजहरूमा कुनै पनि खालको कीर्ते गरेका छैनन् ।

जसपा अध्यक्ष यादवलाई पार्टीले गरेका निर्णयलाई राजनीतिक दल सम्बन्धी ऐनमा रहेको अनुसूची अनुसार निर्णयहरू पठाउन आयोगले पत्र पठाएको थियो ।

जसपाका अध्यक्ष यादवले जेठ १७ गते अनुशासन उल्लंघन गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निष्काशन गरेका थिए ।

अध्यक्ष यादवले ४८ घण्टाभित्रै आयोगलाई लिखित जवाफ दिएपछि ठाकुर–महतोको उदेश्य फेल हुँदै गएको चर्चा हुन थालेको छ ।

अध्यक्ष यादवले ५१ जना कार्यकारिणी सदस्यमध्ये २७ जनाको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा पठाएका छन् । ठाकुर–महतो कार्यकारिणी समितिमा अल्पमतमा छ ।

संसदीय दलमा ठाकुर–महतो बहुमतमा थियो । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विभा विघटन गरेपछि त्यसको असर ठाकुर–महतोलाई परेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकलाई ठाकुर–महतोले छल्दै आएका छन् । अध्यक्ष यादवले पार्टीभित्रका विवाद कार्यकारिणी समितिबाट मिलाउन अनुरोध गर्दै आएका छन् । तर, ठाकुर–महतो अल्पमतमा पर्ने डरले बैठक छल्दै आएका हुन् ।

आयोगले अध्यक्ष ठाकुरलाई पनि पत्र पठाएर लिखतहरू मागेको छ । आयोगले ठाकुर पक्षलाई भने बैठकको माइन्युटसहितका डकुमेन्ट पठाउन भनेको थियो ।

ठाकुर–महतोले ओलीको सरकारमा जान खुट्टा उचालेर बसेका छन् । पार्टीभित्र सरकारमा सहभागी हुने निर्णय गराउन नसक्दा ठाकुर–महतो तनाबमा छन् । यही बेला अध्यक्ष यादवले ठाकुर–महतोलाई अनुशासनको कारबाही गरेपछि जसपा अनौपचारिक रुपमा विभाजन भएको चर्चा छ ।

Published : Thursday, 2021 June 3, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया