जनता महँगी र कोरोनाले तनावमा, एमालेका नेतालाई मीष्ठान्न भोजन खुवाउन ओली व्यस्त

काठमाडौं । कम्युनिस्ट सत्ता संकटमा परेका बेला प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले तीन जना नेताहरूलाई बोलाएर मीष्ठान्न भोजन खुवाएका छन् ।

ओलीले बिहीबार साँझ सरकारी निवास बालुवाटारमा एमालेका नेता वामदेव गौतम, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई मीष्ठान्न भोजन खुवाएका हुन् ।

जनता कोरोना महामारीले समस्यामा परिरहेका बेला ओलीले आफ्नो प्रधानमन्त्री पद बचाउन र फुटको संघारमा रहेको एमाले पार्टी बचाउन नेताहरूलाई बोलाएर रात्रिकालीन भोजन खुवाएका हुन् ।

रात्रिकालीन खानासहित भएको भेटवार्तामा ओलीले गौतमलाई साथ दिनका लागि अनुरोध गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीको सरकारी निवासमा मीष्ठान्न भोजन खाएपछि तस्वीरहरू सार्वजनिक गर्दै एमालेका प्रमुख सचेतक भट्टराईले लेखेका छन्, ‘कमरेड वामदेव गौतमलाई मैले सपाट सोधे, तपाईहरूबीचको सम्वाद सकारात्मक–नकारात्मक जे जस्तो भए पनि तस्वीर सार्वजनिक गर्छु है कमरेड ?’

‘प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको सम्वादपछि उहाँले भन्नुभो केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर, उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन । जमानादेखिको हो र अटुट रहिरहनेछ ।’

‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि ?’, प्रमुख सचेतक भट्टराईले भनेका छन् ।

ओलीको निरंकुश र अधिनायकवादी शैलीको वरिष्ठ नेता माधव नेपाल समूहले विद्रोह गर्दै देशभरि समानान्तर कमिटीहरू गठन गर्दै आएको छ ।

ओलीको अहँकार तोड्न नेपाल समूहले कर्णाली प्रदेशमा फ्लोर्सक्रस गरेर माओवादीको सरकार बचाइदिएको छ । संकटमा परेका बेला ओलीले एमालेका नेताहरूलाई बालुवाटारमा रात्रिकालीन मीष्ठान्न भोजन खुवाएर प्रधानमन्त्री कुर्सी सुरक्षित गर्ने प्रयास गरेका छन् ।

कोरोना महामारीले जनता त्रसित छन् । ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना रोकथाममा काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ ।

ओली भने आफ्नै दल एमालेका नेताहरू फकाउन कहिले पाँचतारे होटेल, कहिले बालुवाटारमा रात्रिकालीन भोजन खुवाउन व्यस्त छन् ।

Published : Thursday, 2021 April 22, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया